घोराही, २० पुस । घोराही उपमहानगरपालिका वडा नं. ४ स्थित श्री माध्यमिक विद्यालय डाँडागाउँमा बालमैत्री स्थानीय शासन प्रवद्र्धन सम्बन्धी भिडियो ‘ज्योति’ प्रदर्शन गरिएको छ । हिमालयन शान्ति तथा विकास अभियान नेपालको आयोजना तथा घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा उक्त चलचित्र प्रदर्शन गरिएको थियो ।
घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यका विभिन्न वडामा सचेतनामूलक विविध कार्यक्रमहरु गरिएको घोराही उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मोतीकुमारी विश्वकर्माले बताउनुभयो । बालबालिकासँग सम्बन्धित हरेक जोखिमलाई आर्थिक पाटोसँग जोडिने गरे पनि अभिभावक एवं बालबालिकाको चेतनाको स्तर माथि नउठ्दासम्म बालबालिकामाथि हुने हिंसा एवं शोषणका घटनाहरु दोहरिरहने उहाँले बताउनुभयो ।
उक्त अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं. ४ का अध्यक्ष भीमबहादुर सार्कीले बालविवाह एवं बालश्रम बाल संरक्षणका क्षेत्रमा मुख्य चुनौतिका रुपमा देखिएको बताउँदै यसको न्युनीकरणका लागि अभिभावक र बालबालिका दुवै सचेत रहनुपर्ने धारणा राख्नुभयो । बालबालिकाहरुको स्वभाव नै चञ्चले हुने भएको हुँदा यो अवस्थामा अभिभावकले विशेष हेरचाह गर्नुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सतीसकुमार आचार्यले बालबालिकाको उमेर शारीरिक विकाससँगै सिकाइको उपयुक्त समय भएको भन्दै यो उमेरमा उचित संरक्षण हुन नसके उनीहरुको जीवन नै बर्बाद हुने बताउनुभयो । बालमैत्री वातावरण एवं उनीहरुलाई आफ्ना रुचिका क्षेत्रमा क्रियाशील बनाउन सके बालबालिकाको चौतर्फी विकासमा टेवा पुग्ने आचार्यले बताउनुभयो ।
सोही अवसरमा विद्यालयका ९, १०, ११ र १२ मा अध्ययनरत बालबालिकाहरुलाई बालश्रम, बालविवाह, बेचविखन र बाल दुव्र्यवहार न्युनीकरण सम्बन्धी प्रशिक्षण दिइएको थियो । कार्यक्रमको सहजीकरण हिप्डेकका कार्यक्रम संयोजक किरण गौतम र महिला तथा बालबालिका शाखाकी राधा भट्टराईले गर्नुभएको थियो । यसअघि घोराहीको वडा नं. २, ११, १७ मा समेत यसखालको भिडियो प्रदर्शन गरिएको हिप्डेकका कार्यक्रम संयोजक किरण गौतमले बताउनुभयो ।
घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा उपमहानगरपालिकामा बालश्रम न्यूनीकरण तथा बाल संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै गौतमले श्रममा रहेका बालबालिकाहरुको उद्धार तथा पुनस्र्थापनासँगै विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत अभिभावक र बालबालिकासँग अन्तक्र्रिया, बालक्लब एवं टोलका अगुवा, बाल संरक्षण समितिसँग छलफल, बाल संरक्षण समितिलाई अभिमुखीकरण, जनप्रतिनिधिहरुसँग छलफल, बालमैत्री स्थानीय शासन प्रवद्र्धनसम्बन्धी भिडियो प्रदर्शन लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको कार्यक्रम संयोजक गौतमले बताउनुभयो ।












