घोराही, ३ फागुन । विद्यालयहरुले शिक्षासंगै सामाजिक विकासको काममा पनि योगदान दिन आज आयोजित एक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । घोराहीमा रहेको जनज्योति विद्यामन्दिरको २१ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्नेहरुले शिक्षाको विकासका लागि निजी विद्यालयहरुले राम्रो योगदान गरिरहेको भए पनि अव सामाजिक विकासका लागि पनि योगदान गर्नुपर्ने बेला आएको बताएका थिए ।

विद्यालयका अध्यक्ष प्रकाश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले जनज्योति विद्यामन्दिरले दाङलगायत नेपालमै पनि राम्रो छवि बनाउन सकेको भन्दै अब सामाजिक विकासका लागि योगदान गर्ने बेला आएको सुझाए । कार्यक्रममा बोल्दै पूर्व मन्त्री समेत रहनुभएकी सुष्मा शर्मा घिमिरेले नेपालको शिक्षाको गुणस्तरिताका लागि निजी विद्यालयले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले नेपालको विकासका लागि शिक्षाको विकास हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड दाङका प्रमुख विनोद गौतमले निजी विद्यालयहरुले उत्पादन गर्ने जनशक्तिले राम्रो काम पाइरहेको भन्दै अव प्राविधिक विषयमा ध्यान दिन आग्रह गर्नुभयो । शिक्षाका कारणले नै देश विकास हुने भन्दै शिक्षाको विकासका लागि योगदान गर्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरुमा हुने अनुशासनले नै सफलता दिलाउने विचार राख्दै अभिभाकले ध्यान नदिए विद्यार्थीहरुले राम्रो नतिजा ल्याउन नसक्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयको अवस्थाका बारेमा जानकारी दिदै प्राचार्य पिताम्वर शाहले समुदायसंग जनज्योति भन्ने अभियान चलाउने योजना अनुरुप सहयोग गर्न थालिसकेको जानकारी दिनुभयो । विद्यालयले शिक्षाको गुणस्तरलाई बढाउनका लागि विभिन्न सेवा सुविधा थपिरहेको जानकारी दिनुभयो । नर्सरी देखि १२ सम्म कक्षा संचालन गरिरहेको जनज्योतिमा हाल करिव दुई हजार विद्यार्थीहरु रहेका छन् । दाङमा धेरै विद्यार्थी हुने थोरै विद्यायमा जनज्योति पनि पर्दछ । जनज्योतिका विद्यार्थीहरुले जिल्लामा उत्कृष्ठ नतिजा पटक पटक ल्याउने गरेका छन् ।

विद्यालयको बार्षिकोत्सव तथा अभिभावक भेलाका अवसरमा पूर्व विद्यार्थी तथा हाल भिक्टोरिया कलेजमा शिक्षा विभाग प्रमुखका रुपमा कार्यरत बामदेव भण्डारीलाई सम्मान गरिएको थियो । यसैगरी अभिभावक राधा पौडेललाई पनि सम्मान गरिएको थियो । विद्यालयमा लामोसमयसम्म शिक्षकका रुपमा कार्यरत सुनिल शाही र निमा डिसीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे, घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत नारायण पौडेल, शुक्रपथ टोलका अध्यक्ष चुनचुन केसी, राप्तीपोष्ट दैनिकका सम्पादक शरद अधिकारी, पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, राधा पौडेललगायतले बोल्नुभएको थियो । जीवनकुमार आचार्यले संचालन गर्नुभएको कार्यक्रममा स्वागत कृष्णदेव थापाले राख्नुभएको थियो । कार्यक्रममा कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीहरुले विभिन्न प्रस्तुतिहरु राखेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस