घोराही, ८ फागुन । घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित भ्युडर सहरी स्वास्थ्य केन्द्रमा कार्यरत अनमी कविता शर्माले आफ्नो जन्मदिनको अवसरमा छात्राहरुलाई सेनेटरी प्याड वितरण गर्नुभएको छ । वडा नम्बर १३ कै बराह क्षेत्र मावि सेवार वनगाउँका १ सय ७० जना छात्राहरुका महिनावारी भएको बखत प्रयोग गर्ने प्याड वितरण गर्नुभएको हो ।
महिनावारी भएको समयमा छात्राहरु विद्यालयमा अनुपस्थित हुने दर बढ्दो रहेको पाइएपछि अनमी शर्माले जन्मदिनका अवसरमा प्याड वितरण गरेको बताउनुभयो । विद्यालयका शिक्षिकाहरुले महिनावारी हुँदा विद्यालय नै नजाने र गए पनि बिचमै कक्षा छाड्ने दर बढ्दो रहेको बताएपछि आफू जन्मिएकै दिन छात्राहरुलाई प्याड वितरण गरिएको बताउनुभयो ।
महिनावारी समय बढी पेट दुख्ने समस्याहरु पनि देखिएको भन्दै दुखाई कम गर्ने औषधी पनि वितरण गरिएको उहाँको भनाइ छ । अनमी शर्माले विद्यालयका शिक्षिक कमला लम्साललाई ती प्याड प्रदान गरेको र आवस्यकताअनुसार छात्राहरुलाई वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
छात्राहरुको स्वास्थ्य समस्यामा अभिभावक र विद्यालय प्रशासनले यसतर्फ पनि ध्यान दिनुपर्छ भन्ने सन्देश दिन पनि आफूले जन्मदिनका अवसरमा प्याड र औषधी वितरण गरिएको बताउनुभयो । साथै उहाँले छात्राहरुलाई महिनावारी भएको समयमा ध्यान दिनुपर्ने सरसफाई, प्रयोग गर्ने प्याड र खानपानका विषयमा जानकारी गराउनुभएको थियो ।












