दाङ, ९ फागुन । बबई गाउँपालिका ६ च्याटी खोलास्थित कुसुम–हापुरे १३२ केभी प्रसारण लाइनको आज उद्घाटन भएको छ ।  प्रसारण लाइन अन्र्तगत सवस्टेशनको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले बढीभन्दा बढी विद्युत खपत गर्न आग्रह गर्नुभयो । दुईसय मेगावाट क्षमताको राष्ट्रिय प्रसारण लाइन भए पनि एक तिहाई मात्रै माग रहेको भन्दै उनले नयाँ उद्योगधन्दा, कलकारखाना खोलेर विद्युतलाई खपत गर्न आग्रह गर्नुभएको हो ।

जिल्लामा पहिलोपटक यती ठूलो क्षमताको सबस्टेशन निर्माण भएको र अब बिधुतको समस्या समाधान भएको नेपाल बिधुत प्राधिकरणका निमित्त कार्यकारी उपनिर्देशक बज्रभुसन चौधरीले बताउनुभयो । ४३ करोड ८६ लाख लागतमा सवस्टेशन निर्माण भएको उहाँले जानकारी दिनुभयो । अब जिल्लाका सबै सिमेण्ट उद्योगलाई बिद्युत आपूर्ती गरी बाँकी ३८ हजार ग्राहकलाई तत्कालै बिद्युत बिस्तार गर्न सकिने चौधरीले जानकारी दिनुभयो । हाल दाङमा चार सिमेण्ट उद्योग सञ्चालित छन् ।

घोराही १३२ केभि प्रसारण लाइनको निर्माण पनि अन्तिम चरणमा पुगेको र अब छिट्टै मागभन्दा बढी बिद्युत आपूर्ती हुने बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले बिद्युत खपत बढाउन सबैलाई आग्रह गर्नुभयो । सव स्टेशन उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुनले शान्ति वार्ताका कारण देश विदेश चिनिएको हापुरे फेरी एकपटक उज्यालोको स्रोतका रुपमा चिनिएको बताउनुभयो ।

जनताले मागेजति बिद्युत दिनसक्ने अबस्थामा अहिले पुगेको उहाँले दावी गर्नुभयो । अब बिद्युतको समस्या हटेको उल्लेख गर्दै उहाँले बिद्युतको सदुपयोग बढाउन योजना बनाउने बेला आएको विचार व्यक्त गर्नुभयो । अहिले देशभर नै जनताको बिद्युत आयोजना अभियान चलाएर हरेक जनतालाई बिद्युतको शेयरधनी बनाउन खोजेको उहाँले बताउनुभयो । अब चार बर्षभित्र बिद्युतमा देशका हरेक नागरिकको पहुँच पुग्ने दावी गर्दै पुनले सबैका घर उज्याला बनाउने अभियानमा लागेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आयातित बिद्युतको उपयोग अन्त्य गर्ने योजना अनुसार काम गरिरहेको बताउनुभयो । बिद्युतको क्षमता बृद्धिसँगै स्थानीय तह पनि अब गाउँबस्ती उज्याला हुनेमा आशावादी भएको बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो । प्रदेश सांसद इन्द्रजीत थारुले बिद्युतको बिस्तारसँगै दाङमा खुशीका दिन शुरु भएको बताउनुभयो । यो बिद्युत लाइन बिस्तारले दाङमा कम भोल्टेज र लोडसेडिङको समस्या समाधान भएको कुसुम हापुरे १३२ केभि प्रुसारण लाइन आयोजना प्रमुख मनोजकुमार चौधरीले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस