दुर्गालाल केसी
कञ्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बित्दा पनि उनका हत्यारा पत्ता लाग्न सकेका छैनन् । सरकार र प्रहरीको प्रतिष्ठाको बिषय बनेको यो घटनाले किशोरीलाई आतंकित बनाइरहेको छ । घर, बिद्यालय, कार्यस्थल, गाउँसमाज, सडक जता पनि असुरक्षा महशुस हुने बनाइरहेको छ । देशका बिभिन्न ठाउँमा बालिका र किशोरी बलात्कार तथा यौनहिंसामा परेका खबरहरु सार्वजनिक भैरहेका छन् ।
यस्ता घटनाहरुबीच पूर्व नवलपरासीका किशोरीहरुले समाज बदल्न ठूलो संघर्ष गरेका छन् । छोरीलाई हेर्ने समाजको दृष्टिकोण बदल्न उनीहरुले बिभिन्न सामाजिक अभियानको अगुवाई गरेका छन् । देवचुली नगरपालिका बालमैत्री घोषणा भैसकेको छ । जिल्लालाई नै किशोरी सशक्तिकरणको नमूना क्षेत्र बनाउन उनीहरु रातदिन खटेका छन् । बालिका र किशोरीहरुलाई सशक्त पार्न गाउँगाउँ पस्छन्, बिभिन्न तालिम दिन्छन् अनि आफ्नो अध्ययनलाई पनि सँगसँगै अघि बढाउँछन् ।
शुरुमा घर परिवारले पनि सहज मानेका थिएनन् । घरबाट कतै निस्कन थाल्योकी आमाबुवा डराउँथे । छोरी बाहिर निस्कनुहुँदैन भनेर सँधै अर्ती उपदेश दिन्थे । परिवारको यो सोच बदल्न कावासोतीकी आशा बिकलाई त्यति सहज थिएन । ११ कक्षा अध्ययनरत बिकले लामो समय आमाबुवालाई सम्झाइन्, आफ्नो कामबारे जानकारी दिइन् । छोरीको काम देखेपछि परिवार पनि बिश्वस्त भए । अनि आशा जिल्लामा किशोरी तालिमको कुशल प्रशिक्षक बनिन् । अहिले उनी ढुक्कसँग तालिम दिन निस्किन्छिन् । धेरै किशोरीहरु उनलाई गुरु मान्छन् ।
९ कक्षा अध्ययनरत देवचुलीकी शुष्मा पोख्रेललाई पनि घर परिवारले कुरा नबुझ्दा सधैँ तनाव हुन्थ्यो । घरबाटै छोरीको क्षमतामाथि अबिश्वास भएपछि बाहिर पनि खुलेर बोल्न धक लाग्थ्यो । बिद्यालयका कार्यक्रममा उनी अघि सर्दैनथिन् । उभिएर बोल्न डराउँथिन् । बाल क्लवमा बस्नुपर्दा धेरै बोल्नु नपर्ने उपाध्यक्ष, सदस्य जस्ता पद रोज्थिन् । आठ महिना यता भने उनको जीवनशैली बदलिएको छ । अहिले उनी आफू मात्रै होइन अन्य किशोरीलाई समेत सशक्त पार्न गाउँगाउँ छिरेकी छिन् ।
उनी बालिका सशक्तिकरणको प्रशिक्षक भएकी छिन् । बालिकालाई आत्मरक्षा तालिम दिन्छिन् । प्रशिक्षक भएर धेरै साथीहरुको अगाडि उभिदा पनि उनी कुनै अप्ठेरो महशुस गर्दिनन् । अहिले बाल क्लवमा पनि धेरै बोल्नुपर्ने, सक्रिय हुनुपर्ने सचिव पदमा बसेकी छिन् । ‘पहिले धेरै बोल्नु नपरे हुन्थ्यो जस्तो लाग्थ्यो । बोल्नेभन्दा लुकेर बस्थें,’ उनले भनिन्,‘अहिले अगाडि सर्छु, अरुलाई पनि बोल्न सिकाउँछु । घरबाट पनि बाहिर निस्कदा पहिलेजस्तो डराउनु हुन्न ।’
९ कक्षामै पढ्ने सुधा सुनारलाई पनि आजभोलि कामले भ्याइनभ्याइ छ । उनी बालिकाहरुलाई आत्मरक्षा, स्यानीटरी प्याड बनाउने र दुव्र्यसन नियन्त्रण सम्बन्धी तालिम दिन्छिन् । ‘शुरुमा तालिम लिन जाँदा घरबाट गाली गरे । पढाइ बिग्रिन्छ भनेर जान दिएनन्,’ उनले भनिन्,‘म लुकीलुकी तालिम लिन गएँ । अहिले तालिम दिन थालेपछि बिभिन्न कार्यक्रममा अतिथि बनाएर बोलाउँछन् ।’ राम्रो काम गरेको भनेर पत्रिकामा नाम छापिएपछि बुवाआमाले पनि राम्रो हौशला दिने गरेको उनले बताइन् ।
११ कक्षा अध्ययनरत सपना पौडेलले ३ सय बढी बालिकाहरुलाई आत्मरक्षा तालिम दिएकी छिन् । पत्रपत्रिकामा किशोरी सशक्तीकरणका लेखहरु लेख्छिन् । रेडियोमा बालिका सशक्तिकरणबारे अन्तर्वाता दिन्छिन् । ‘पहिले पहिले समाजका अगुवाहरुले पनि हतोत्साहित गर्थे । सानो मान्छे धेरै बोल्नुहुँदैन भन्थे,’ उनले भनिन्,‘तर निराश नभएर अघि बढें । अहिले सबै कार्यक्रममा सहभागी गराउँछन् । अहिले त म पनि अगुवा भएकी छु ।’
श्रद्धा अर्याल ११ कक्षा पढ्छिन् । उनी किशोरी प्रशिक्षक हुन् । बालअधिकार, नेतृत्व, बालविवाह र आत्मरक्षाको तालिम दिन्छिन् । स्यानीटरी प्याड किनेर लगाउन नसक्ने विपन्न समुदायका किशोरीहरुलाई प्याड बनाउने तालिम दिन्छिन् । ‘गाउँका धेरै किशोरीले पहिले कपडाको प्याड प्रयोग गर्थे जुन स्वास्थ्यका लागि जोखिमपूर्ण थियो,’ उनले भनिन्,‘अहिले आफै बनाएर लगाउन थालेका छन् ।’ प्रशिक्षक भएपछि उनको आत्मबिश्वास बढेको छ । आत्मरक्षा तालिमले यौनहिंसाबाट कसरी बच्ने भन्नेबारे धेरै प्राबिधिक ज्ञान हासिल गरेकी छिन् । त्यही ज्ञान उनले अन्य किशोरीमाझ बाँडेकी छिन् ।
९ कक्षा पढ्ने बिनिता श्रेष्ठ पनि किशोरीहरुको क्षमता विकासमा निरन्तर लागिरहेकी छिन् । बिभिन्न बिद्यालय पुगेर तालिम दिन्छिन् । उनी बालिकामाथि यौन हिंशा, बलात्कार र दुव्र्यवहारका घटना कसरी हुन्छन्, यस्ता घटनाबाट कसरी बच्ने, कसरी प्रतिकार गर्ने जस्ता सिपहरु सिकाउँछिन् । यसले उनको आत्मबिश्वास पनि बढेको छ । १२ कक्षा पढ्ने प्रिया पुन मगर, १० कक्षाकी संगम भुसाल, ९ कक्षाकी मधु देवकोटा, ९ कक्षाकै श्रृजना अर्याल लगाएत देवचुलीका दुई दर्जन बढी किशोरीहरुले बालिका सशक्तीकरणको नेतृत्व गरेका छन् ।
पढाइको समय व्यवस्थापन गर्दै उनीहरुले किशोरीलाई क्षमता विकासको तालिम दिने गरेका छन् । यौन हिंसाबाट कसरी बच्ने, कसरी प्रतिकार गर्ने, कुनै बालिकालाई केही भैहाले तत्कालै कहाँ खबर गर्ने, कसको सहयोग लिने जस्ता कुरामा उनीहरु पूर्ण जानकार छन् । सबै बालिकालाई उनीहरु यस्तै सिपहरु दिएर आत्मबिश्वासी बनाइरहेका छन् । कनालन र जागृती बाल तथा युवा सरोकार नेपालले शुरुमा उनीहरुलाई प्रशिक्षक तालिम दिएको थियो । त्यसपछि तालिमको व्यवहारिक प्रयोग गर्न गाउँगाउँ पठाएको थियो । ‘बालिकाहरुलाई सशक्तिकरण गरौं, समृद्ध नेपाल निर्माण गरौं’ भन्ने मुख्य नाराका साथ बालिका सशक्तिकरण कार्यक्रम थालिएको जागृती बाल तथा युवा सरोकार नेपालका कार्यक्रम संयोजक दिपक शर्माले बताए । उनीहरुले बिद्यालय र समुदायमा पुगेर तालिम दिन थाले । निरन्तर तालिम दिने काममा सहभागी भएपछि उनीहरुको आत्मबिश्वास बढ्दै गयो ।
तालिम लिंदा र दिंदा पढाइमा पनि सुधार भएको किशोरीहरुको अनुभव छ । पहिले बोल्न नसक्दा, नजानेका कुरा सोध्न नसक्दा र आफ्नो क्षमता नचिन्दा पढाइमा पनि पछि परेको ८ कक्षा अध्ययनरत प्रेरणा अज्र्यालको अनुभव छ । ‘हाम्रो घरमा तीन छोरी मात्रै छौं । छोरी मात्रै भएको घरमा प्रगति हुँदैन भनेर गाउँ समाजले हाम्रो कुरा काट्छन्,’उनले भनिन्,‘यसले हामीलाई निराश बनाउँथ्यो । केही गर्न सक्दैनौं की जस्तो लाग्थ्यो । तालिमको प्रशिक्षक भएपछि आत्मबिश्वास बढेको छ । पढाइ पनि राम्रो भएको छ ।’ पहिले ७१ प्रतिशत मात्रै नतिजा हासिल गरेकी अज्र्यालले अहिले ८७ प्रतिशत ल्याएकी छिन् ।
किशोरीहरुको सशक्तिकरणले छोरीप्रतिको सोचाई बदल्न महत्वपूर्ण भूमिका खेलेको कालिका मावि बिशालटार देवचुलीकी शिक्षिका सितादेवी पौडेलले बताइन् । ‘समाजमा छोरीलाई सजिलै बिश्वास गरिदैन । छोरीलाई आफै उभिन दिईदैन,’ उनले भनिन्,‘अहिले किशोरीहरु बिभिन्न बिषयका प्रशिक्षक भएर समाजमा स्थापित भएपछि सबैले पत्याएका छन् । उनीहरुको क्षमताले सबैलाई हौसला थपेको छ ।’ विद्यालयमा पनि उनीहरु सबै कामको अगुवा भएको पौडेलले बताइन् ।
बिद्यालयका कार्यक्रममा सहभागी हुन डराउने बालिकाहरु अहिले हरेक काममा नेतृत्व गर्न अग्रसर भैरहेको नेपाल मावि केउरानीकी शिक्षिका सरस्वती अर्यालले बताइन् । ‘पहिले बालिकाहरु लजाएर बस्थे । आफूलाई परेका समस्या राख्न सक्दैनथे,’ उनले भनिन्,‘अहिले समूहमा नै समस्याबारे छलफल गर्ने र सामूहिक समाधानको उपाय खोज्ने गर्छन् । घरपरिवार र बिद्यालयले पनि उनीहरुलाई सहयोग गरिरहेका छन् ।’ भिमसेन माविकी शिक्षिका सरिता शर्मा, जनज्योती माविकी चन्द्रकला पाण्डे, देवचुली माविकी लक्ष्मी पुडासैनी र सकला माविकी उमा सिग्देल पनि आफ्ना बिद्यार्थीहरुमा आएको परिवर्तन देखेर निकै सन्तुष्ट छिन् ।
छोरीहरुको कामबाट अभिभावक पनि प्रभावित भएका छन् । आफूले पढ्न नपाए पनि छोरीले पढेर समाजमा स्थापित हुने काम गरेको देवचुली १० की अभिभावक तकमाया थापा मगरले बताइन् । उनकी छोरी मोतिसरा ९ कक्षा पढ्छिन् । ‘छोरी आत्मरक्षा तालिमको प्रशिक्षक छिन् । गाउँगाउँमा पुगेर किशोरीलाई तालिम दिन्छिन् । उनको आत्मबिश्वास बढेको छ,’ उनले भनिन्,‘हाम्रो पालामा छोरीलाई पढाउने चलन थिएन । घरबाट निस्कन पनि पाइदैनथ्यो । छोरीहरु हामीभन्दा प्रगति गरुन् भनेर हौशला दिइरहेका छौं ।’ गाउँसमाजमा छोरीको कामको राम्रै प्रशंसा भैरहेकाले आफूलाई सन्तोष मिलिरहेको उनले बताइन् ।
आत्मरक्षा तालिमले किशोरीहरुमा क्रान्ति नै आएको कानूनी लडाई लडेर नेपालमै पहिलो बाल क्लव स्थापना गर्ने जागृती बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए । ‘बिभिन्न ठाउँमा बालिका, किशोरीमाथि भैरहेका यौनहिंशाका घटनाले धेरैलाई निराश बनाएको पाइयो । छोरी भएकोमा धिक्कार मानेर बसिरहेको पनि पाइयो,’ उनले भने,‘यस्तो बेला उनीहरुलाई सशक्तिकरण गरेर आफ्नो क्षमता चिन्नसक्ने बनाउनु महत्वपूर्ण हुन्छ । पूर्वी नवलपरासीका किशोरीहरुले यस्तो कामको अगुवाई गरेका छन् ।’
किशोरीहरुले बेलाबेला आफ्ना कामहरुको समिक्षा गर्दै आगामी योजना तय गर्ने गरेका छन् । किशोरीहरुको सिकाई उत्साहजनक रहेको प्रशिक्षक निरज न्यौपानेले बतँए । ‘शुरुमा प्रशिक्षक तालिम लिंदा र अहिलेको अबस्था हेर्दा धेरै अन्तर देखियो,’ उनले भने,‘किशोरीहरुले आफ्नो क्षमता चिनेका छन् । आत्मरक्षा गर्न र अरुलाई यसतर्फ प्रेरित गर्न सफल भएका छन् ।’ किशोरीहरुले स्थानीय तह, बिद्यालय र अन्य सरोकारवाला निकायहरुसँग आफै समन्वय गरेर काम गर्न थालेको अर्का प्रशिक्षक दिपक बस्यालले बताए । ‘बिद्यालय पढिरहेका बालिकाहरुले यती धेरै कामको नेतृत्व गर्नसक्नु धेरै ठूलो उपलब्धी हो,’ उनले भने,‘यसले धेरै बालिकाहरुको आत्मबल बढाएको छ ।’












