दुर्गा खत्री सफल युवा हुनुहुन्छ । स्वच्छ, इमान्दार छवि भएका खत्री समाजमा उदाहरणीय युवाका रुपमा आफ्नो परिचय बनाइसक्नुभएको छ । घोराहीका दर्जन बढी संघसंस्थामा आवद्ध भएर सफल व्यक्तित्वको परिचय दिइसक्नुभएका खत्री यही माघ २६ गते हुन गइरहेको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिनुभएको छ । प्रस्तुत छ यसै सेरोफेरोमा रहेर खत्रीसँग गरिएको कुराकानीको सारसंक्षेप । सम्पादक

यहाँको उम्मेदवारी किन ?
घोराही दाङको प्रमुख सहर भएको हुँदा यहाँ दिनप्रतिदिन जनघनत्व बढिरहेको छ । यहाँको जनघनत्वलाई थेग्ने खानेपानीको व्यवस्थापन हुन सकिरहेको छैन । लामो समयदेखि एउटै नेतृत्वले निरन्तरता पाइरहेका कारण जुन रुपमा खानेपानीका लागि पहलकदमी हुनुपर्दथ्यो, त्यो हुन सकिरहेको छैन । यस्तो अवस्थामा घोराही बजारलाई सर्वसुलभ स्वच्छ पिउने पानी उपलब्ध गराउने लक्ष्यका साथ हामी चुनावी मैदानमा उत्रिएका छौं । उपभोक्ताहरुलाई शुद्धिकरण गरिएको पानी उपलब्ध गराउनु मेरो मुख्य उद्देश्य रहेको छ ।

के एउटै नेतृत्वले निरन्तरता पाउँदा खानेपानी सर्वसुलभ हुन नसकेकै हो त ?
हो, निश्चय नै एउटै नेतृत्व बारम्बार दोहोरिरहँदा काम गर्ने इच्छाशक्ति कम हुन्छ । नयाँ योजनाहरु आउन सक्दैनन् । यहाँको पानीको माग अनुसार ठुला योजनाहरु आउन सकिरहेका छैनन् यो एकै व्यक्ति नेतृत्वमा रहनुको उपज हो । जसका कारण यसको जुन रुपमा विकास हुनुपर्दथ्यो, त्यो हुन सकिरहेको छैन । दीर्घकालिन रुपमा यहाँको खानेपानीका लागि जुन योजनाका साथ काम हुनुपर्दथ्यो, त्यो हुन सकिरहेको छैन । खानेपानीको स्रोतको खोजी गर्ने कार्यले व्यवहारिकता पाएको छैन । नेतृत्वले जुन रुपमा प्रचारवाजी गर्दै आयो, त्यो रुपमा काम हुन सकिरहेको छैन । यस्तो अवस्थामा खानेपानी संस्थाभित्रका विभिन्न समस्याहरु समाधानका लागि पनि मैले उम्मेदवारी दिएको हुँ ।

खानेपानी संस्थाभित्र विभिन्न समस्या रहेको कुरा गर्नुभयो । कस्ता समस्या छन् र संस्थाभित्र ?
घोराही खानेपानी संस्थाभित्र पछिल्लो समयमा आएर आर्थिक अपारदर्शीता र अनियमितता भएका कुरा बेलाबेलामा आउने गरेका यहाँहरुलाई पनि विदितै छ । हामी उक्त कुराको पूर्ण अन्त्य गर्ने योजनाका साथ चुनावी मैदानमा उत्रिएका छौं । हाम्रो अभियानमा उपभोक्ताहरुको पूर्ण साथ रहेको छ । प्रचारको दौरानमा हामीलाई यो कुराको महसुस भएको छ ।

तपाईँ सदस्यमा निर्वाचित भएपछि यहाँले खानेपानीभित्र रहेका भनिएका समस्या समाधान गर्न सक्नुहुन्छ त ?
हरेक संस्थामा एउटैले भन्दा पनि सबैको समन्वय भयो भने मात्र लक्ष्य अनुसार उपलब्धि प्राप्त गर्न सकिन्छ । संस्थाको नेतृत्वलाई सही दिशा प्रदान गराउने काम कार्यसमिति सदस्यहरुको रहन्छ । म यसपूर्व धेरै संस्थामा काम गरिसकेको हुँदा पनि अघिल्ला अनुभवलाई खानेपानीको हितको पक्षमा लगाउने छु । नेतृत्वलाई सही दिशा प्रदान गर्नमा भूमिका खेल्ने छु ।

घोराही वजारलाई चौविसै घण्टा पुग्ने खानेपानी उपलब्ध गराउने कुरा गर्नुभयो । यो कसरी सम्भव छ ?
यहाँले सोधेजस्तै सबैले सोध्ने प्रश्न हो यो । हामीले घोराही वजारलाई सर्वसुलभ स्वच्छ खानेपानी उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका छौं । स्थानीय, प्रदेश र केन्द्रीय सरकारसँगको सहकार्यमा हामीले घोराहीका लागि दीर्घकालिन खानेपानीको स्रोतको खोजी र व्यवस्थापन गर्नेछौं । प्रदेश र केन्द्रीय सरकारले कटुवाखोला हाइड्यामको योजना अगाडि बढाएको छ । घोराही खानेपानीको वर्तमान नेतृत्वले उक्त योजनालाई सफल बनाउने गरी हालसम्म पनि आफ्ना गतिविधि अगाडि बढाएको देखिएको छैन । हामीले यो योजनालाई आफ्नो योजना बनाएर अगाडि बढ्ने छौं । कटुवाखोला हाइड्यामका साथै माडी डाइभर्सनलाई पनि घोराहीको दीर्घकालिन स्रोतका रुपमा विकास गर्ने हाम्रो योजना रहेको छ । यसका साथै तत्कालिन रुपमा खानेपानीमा भइरहेको चुहावट न्यूनीकरण गरी हालका स्रोतको संरक्षण र व्यवस्थापनमा हामीले जोड दिँदै जानेछौं ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
यही माघ २६ गते हुन गइरहेको घोराही खानेपानी तथा सरसफाई संस्थाको निर्वाचनमा मैले सदस्यमा उम्मेदवारी दिएको छु । मलाई विजय बनाउन यहाँहरुले भूमिका खेल्नुहुनेछ भन्ने अपेक्षा लिएको छु । सम्पूर्ण मतदाता महानुभावहरुमा नयाँ पुस्तालाई नेतृत्व गर्ने अवसर दिनका लागि हार्दिक अनुरोध गर्दछु ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस