दाङ, २८ माघ । लोकतान्त्रिक आन्दोलनका प्रथम सहिद उमेशचन्द्र थापाको स्मृतिमा सोमबार गणतन्त्र स्थापनामा सहिद उमेशचन्द्र थापाको योगदान विषयक अन्तरक्रिया सम्पन्न भएको छ । सहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानको आयोजनामा अन्तरक्रिया आयोजना गरिएको हो ।

जनआन्दोलन २०६२/०६३ का प्रथम सहिद थापाको २०६२ माघ २६ गते तत्कालिन सरकारद्वारा हत्या गरिएको थियो । स्थानीय निकायको निर्बाचन बहिष्कारका क्रममा थापाको निधन भएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले थापाको योगदानको बारेमा चर्चा गर्नुका साथै नेकपा एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया टुङ्गोमा नपुगेका कारणले समस्या भएको चर्चा गरेका थिए । कार्यक्रमका बक्ताहरुले दुई तिहाइको सरकार भएको भए पनि त्यो सरकारले गरेका राम्रा कामको प्रचार प्रसार गर्ने काम हुन नसकेको भन्दै पार्टीका सवै निकायको एकता टुङ्गाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष बिकिरण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य भागवत बिश्वासीले सहिदका सपना पुरा गर्नु नेकपाका लागि पहिलो जिम्मेवारी भएको बताउनुभएको थियो । उहाँले पार्टी एकताको टुङ्गो लाग्नुपर्नेमा जोड दिनुभएको थियो । यसैगरी उहाँले उमेशचन्द्र थापा जस्ता कैयन सहिदहरुको बलिदानीले देशमा परिवर्तन भएको स्मरण गर्नुभयो । सहिदको सपना पुरा गर्नु सबैको दायित्व भएको धारणा पनि उहाँको थियो ।

पछिल्लो पटक कम्युनिष्ट पार्टीहरु एकताको प्रक्रियामै रहेको भन्दै थापा जस्ता सहिदको सपना पुरा गर्नका लागि एकताको कार्यभार कम्युनिष्ट नेताका लागि ठूलो अवसर भएको बताउनुभयो । विश्वासीले गणतन्त्र स्थापनामा थापाको योगदान रहेको चर्चा गर्नुभएको थियो ।

यस्तै नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रेखा शर्माले सहिदको योगदानलाई अवमूल्यन गर्न नहुने तर्क गर्नुभयो । पछिल्लो समयमा सरकारका बिरुद्ध बढी धावा बोलिएको भन्दै नेकपाका नेताहरुलाई बिबादमा ल्याउने प्रपञ्च सुरु गरिएको बताउनुभएको थियो ।

यस्तै प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य यशोदा सुबेदीले पार्टी एकताका लागि नेताहरु एकमना लागेको बताउँदै स्थानीय तहसम्म त्यसलाई पुर्‍याउन सक्नुपर्ने बताउनुभएको थियो । पछिल्लो समयमा कम्युनिष्ट सरकारले जनताका अपेक्षाअनुसार काम गरिरहेको बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य मेटमणी चौधरीले पार्टी एकता प्रक्रियालाई धरमराउन दिन नहुने बताउनुभएको थियो । पछिल्लो पटक सञ्चारमाध्यममा केही बिबाद जस्तो देखिए पनि पार्टी एकता प्रक्रियामा कुनै असर नगर्ने बताउनुभएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष तुलसा केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पूर्व मन्त्री सुष्मा शर्मा, नेकपाका नेता देवी पोखरेल, प्रदेश सांसद अमरबहादुर डाँगी, जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, नेकपा कार्यदलका सदस्य टीकाराम खड्का, रेडियो मध्यपश्चिमका अध्यक्ष सुशील गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, नेकपाका नेता माधव न्यौपानेले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव सुरामणी बेल्बासेले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस