सल्यान (फारुलाचौर), ६ असार । दार्मा गाउँपालिकामा कार्यरत कर्मचारीहरु गाउँपालिकाको समग्र समृद्धि एवं कर्मचारीको हकहित संरक्षणका लागि एकजुट भएका छन् । शुक्रबार कर्मचारीहरुको भेलाले गाउँपालिकाका लेखापाल दिपक कवरको अध्यक्षतामा १३ सदस्यीय हकहित संरक्षण समिति गठन गरेको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष निमबहादुर केसीले कर्मचारीहरु एकजुट भएकोमा खुसी व्यक्त गर्दै गाउँपालिका एवं कर्मचारीहरुको हितमा हुने हरेक सुझावहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दार्मा गाउँपालिकालाई नमुनाको रुपमा विकास गर्ने लक्ष्य लिएको बताउँदै अध्यक्ष केसीले दर्मालीको समृद्धिको यात्रामा साथ दिन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

कवरको अध्यक्षतामा गठित समितिको वरिष्ठ उपाध्यक्षमा अमृत खड्का, उपाध्यक्षमा यमुना खड्का, सचिवमा खुमबहादुर केसी, कोषाध्यक्षमा यज्ञबहादुर बस्नेत, सहसचिवमा घमण्ड वली रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा बिर्खबहादुर खड्का, किरण गौतम, तारा केसी, पुष्पा केसी, माया शाही, रामबहादुर केसी, भीमबहादुर थापा रहनुभएको छ । गाउँपालिकामा हाल ८४ जना कर्मचारीहरु कार्यरत रहेका छन् । समितिले सल्लाहकारमा गाउँपालिकाका प्रमुख नीमबहादुर केसी, प्रमुख प्रशासकीय अधिकृत वसुन्धरा पुन र कानुनी सल्लाहकार इन्द्रबहादुर भण्डारीलाई चयन गरेको छ ।समितिको पहिलो बैठकले गाउँपालिकाको समृद्धिका लागि कार्यसम्पादनमा सहजता ल्याउन हरेक महिना समीक्षा एवं कार्ययोजनासहित शाखा प्रमुखहरुसँग बैठक बस्नका लागि ध्यानाकर्षण गराउने, करार कर्मचारीहरुको व्यवस्थापनका लागि कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि बनाई समान तहका कर्मचारीलाई सेवा सुविधामा संघीय सरकारको कर्मचारीको सेवा सुविधा हुने गरी व्यवस्थापन गर्न दार्मा गाउँकार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले कृषि तथा पशु सेवाको साविक एक गाविस एक प्राविधिकहरुको संघीय सरकारको सशर्त अनुदानमा तलब भत्ता सुनिश्चित नभएको हुँदा दार्मा गाउँपालिकाले व्यवस्थापन गर्नका लागि गाउँ कार्यपालिका समक्ष पेश गर्ने निर्णय गरेको छ । सामाजिक परिचालकको सेवा सुविधा सहायक स्तरको चौथो तहको बनाई स्पष्ट कार्यविवरण दिनको लागि दार्मा गाउँकार्यपालिका समक्ष पेश गर्ने निर्णय गरेको छ भने कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि अध्ययन अवलोकन भ्रमणको व्यवस्था, बर्थिङ सेन्टरमा काम गर्ने, कामको बढी चाप हुने शाखाहरुका कर्मचारीलाई प्रोत्साहनको लागि दार्मा गाउँकार्यपालिका समक्ष पेश गर्ने निर्णय गरेको समितिका अध्यक्ष दिपक कवरले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस