दाङ, २४ फाल्गुन । तुलसीपुर उपमहानगरपालिका दाङले १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा किशोरीहरुलाई साइकल वितरण गरेको छ । विभिन्न दाताहरुको सहयोगमा उपमहानगरले ५४ जना किशोरीहरुलाई साइकल हस्तान्तरण गरेको हो ।

सामुदायिक विद्यालयका कक्षा ८ देखि १२ मा पढ्ने किशोरीहरुका लागि साइकल वितरण गरिएको उपमहानगरले जनाएको छ । आधा घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नुपर्ने अवस्थाका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई छनौट गरेर पहिलो चरणमा परेका किशोरीहरुलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले साइकल हस्तान्तरण गर्नुभएको थियो । साइकल वितरण पश्चात् निकालिएको र्‍यालीले तुलसीपुर बजारका विभिन्न स्थानको परिक्रममा गरेको थियो ।

तुलसीपुर उपमहानगरपालिकालाई साइकल सिटीका रुपमा विकास गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाले महिला दिवसको अवसर पारेर साइकल वितरण गरेको कार्यक्रमका फोकल पर्सन सविन केसीले बताउनुभयो । ‘महिलाको सशक्तीकरण, नेतृत्व र सम्मान : तुलसीपुरको पहिचान’ भन्ने मूल नाराका साथ उपमहानगरले यसवर्षको महिला दिवस मनाएको छ ।

किशोरीहरुको सशक्तीकरण र शिक्षामा पहुँच बृद्धिका लागि साइकल वितरण गर्ने अभियानमा तुलसीपुर उद्योग वाणिज्य संघले २५ वटा साइकल उपलब्ध गराएको थियो भने अन्य व्यक्ति तथा संघसंस्था समेतको सहयोगमा ५४ वटा साइकल वितरण गरियो । पहिलो चरणमा २०० वटा साइकल वितरण गर्ने लक्ष्य उपमहानगरले लिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले साइकल वितरणले किशोरीहरुको सशक्तीकरणका साथै शिक्षामा पहुँच बृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो । आफूले तुलसीपुरलाई वातावरणमैत्री, महिलामैत्री तथा हरियाली बनाई नमुना सहरका रुपमा विकास गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । आफू स्वस्थ रहन एवं वातावरणमैत्री सहर बनाउन सबैलाई साइकल चढ्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतम, युएनडिपीका आवासीय प्रतिनिधि बुर्नाडो कुकु, सामाजिक विकास समितिका संयोजक कुमार लामिछाने, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, साइकल संघका निवेश दुगड, साइकल प्राप्तकर्ता किशोरी अनिशा चौधरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा महिला अधिकारकर्मी शुष्मा गिरी लामिछानेले महिला दिवसका सन्दर्भमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । न्यायिक समितिकी जानका रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा स्मार्ट छोरी कार्यक्रम र साइकल चालकको माइलेज मापन गर्ने मोबाइल एप्सको औपचारिक उद्घाटन समेत गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस