काठमाडौं, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा पौडेललाई गिरफ्तार गरेको आरोप लगाइएको छ।
एमालेले आफू सधैं कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा रहेको उल्लेख गर्दै वर्तमान सरकारले विपक्षी दलहरूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा दमन र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको जनाएको छ। वक्तव्यमा पौडेल सार्वजनिक पद धारण गरेका तथा कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्व भएकाले सोधपुछ वा अनुसन्धानका लागि अन्य वैधानिक विकल्प हुँदाहुँदै पक्राउ गरिएको दाबी गरिएको छ।
पार्टीले यस घटनालाई अधिनायकवादी प्रवृत्तिको उदाहरणका रूपमा व्याख्या गर्दै विपक्षी दललाई लक्षित यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिएको छ। साथै सरकारका लोकतन्त्रविरोधी र स्वेच्छाचारी कदमविरुद्ध देशभक्त, न्यायप्रेमी तथा लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन आह्वान गरेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस