दाङ,९ असार । दाङकाे घाेराही १ स्थित अम्बिका मावि हर्नाेक दाङबाट यस बर्ष कक्षा १२ पास गर्ने विद्यार्थीलाई सम्मान गरेकाे छ । विद्यालय परिसरमा आज एक कार्यक्रमका विच ति विद्यार्थीलाई सम्मान गरिएको हाे ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सन्त बहादुर पुनले कक्षा १२ को परीक्षामा सफल हुने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि अध्ययन, अनुशासन र सकारात्मक सोचलाई निरन्तरता दिन आग्रह गर्नुभयो। विद्यालयले हासिल गरेको उत्कृष्ट नतिजा विद्यार्थीको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको सहयोगको परिणाम भएको उहाँले बताउनुभयो। साथै आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित विद्यालय अगाडि बढिरहेको जानकारी दिनुभयो। त्यसैगरी सहायक प्रधानाध्यापक हरिबहादुर बिष्टले सम्मानित विद्यार्थीहरूलाई उच्च शिक्षा तथा भविष्यको यात्रामा सफलताको शुभकामना दिँदै सिकाइलाई जीवनभरको प्रक्रिया ठानी निरन्तर मेहनत गर्न सुझाव दिनुभयो। उहाँले विद्यालयको गौरव बढाउने विद्यार्थीहरूको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

विद्यार्थीको तर्फबाट मन्तव्य राख्दै सम्मानित विद्यार्थी भावना घर्तीले विद्यालय, शिक्षक तथा अभिभावकप्रति आभार व्यक्त गर्नुभयो। विद्यालयबाट प्राप्त ज्ञान, सीप र संस्कारले भविष्यमा सही मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गर्दै उहाँले आफूहरूलाई सम्मान गरेर थप जिम्मेवार र प्रेरित बनाएको बताउनुभयो।

यस वर्ष विद्यालयबाट कक्षा १२ मा सहभागी विद्यार्थीमध्ये करिब ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई विद्यालयले सम्मानपत्र तथा शुभकामना प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस