घोराही २७ बैशाख । माओवादीले युद्धकालमा सबैभन्दा ठूलो दुश्मन कांग्रेस नेताहरुलाई बनाएका थिए । उनीहरुको मुख्य केन्द्रबिन्दु नै काँग्रेस नेताका घर र जग्गा थिए । दाङका अधिकांश काँग्रेस नेताहरु गाउँमा बस्न पाएनन् । उनीहरुका जग्गा कब्जा भए, घरमा आगजनी भयो ।

काँग्रेस नेताहरु बिस्थापित भएर शहरमा बस्नुपरेको थियो । शान्ति प्रक्रिया आइसक्दा पनि धेरैका जग्गा फिर्ता भएनन् । उल्टै कब्जा जग्गामा व्यापार गरेर माओवादी नेतहरुले नै पैंसा कमाए । जग्गाधनीहरु पिडित नै भए ।

तत्कालिन माओवादी पिडित संघ दाङले तयार पारेको तथ्यांक अनुसार दाङमा २ सय ७० जना काँग्रेस नेताहरु माओवादीद्वारा बिस्थापित भएका थिए । माओवादीले उनीहरुको ५ हजार ४ सय बिघा बढी जग्गा कब्जा गरेका थिए । जग्गा फिर्ता नभएपछि लामो समयसम्म बिस्थापितहरु प्रशासन धाउन बाध्य भएका थिए । कतिपय काँग्रेस नेताहरुले माओवादी नेताहरुलाई नै जग्गा प्लटिङ गर्न दिएर आफू सुरक्षित हुने उपाय निकालेका थिए ।

माओवादी नेताहरुले काँग्रेसका नेताहरुलाई धम्काएर जग्गा आफूले सस्तो खरिद् गरी प्लटिङ गरेका थिए । कतिपयका जग्गा अहिले पनि बिभिन्न बाहनामा कब्जामा छन् । किसानहरुले जग्गा अधियाबापत दिएको धानसमेत माओवादीले लुटेका थिए ।

माओवादी काँग्रेसका नेताका घरका काठहरु समेत निकालेर लगेका थिए । कतिपयले घरबारीमा रहेका रुखहरु समेत काटेर लगेका थिए ।

कतिपयका त घर भत्काएर इटा समेत माओवादी नेताहरुले लगेका थिए । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि जग्गा कब्जा र धम्की छुटेको थिएन । अहिले पनि माओवादी अध्यक्ष प्रचण्डले माओवादीलाई भोट नहाले देश दुर्घटनामा जाने भन्दै धम्की दिइरहेका छन् ।

माओवादीले युद्धकालमा हत्या गरेका, अंगभंग बनाएका, वेपत्ता पारेका र लुटेका सबैजसो पिडितहरु काँग्रेस नेताहरु नै छन् । त्यसरी दुःख दिएका माओवादी नेतालाई अहिले गठबन्धनका नाममा भोट हाल्न नसकिने काँग्रेसका नेताहरुको गुनाशो छ । केन्द्रमा काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले सहमति गरेर गठबन्धन गरे पनि जिल्ला, नगर, वडा र गाउँ तहसम्म माओवादीसँग मन मिल्न नसक्ने काँग्रेस नेताहरुको भनाइ छ ।

हिजो यातना दिएका, घरजग्गा लुटेका, हत्या गरेका, अंगभंग पारेका, अपहरण गरेका माओवादीलाई अहिले भोट हालेर जिताउनुपर्ने बाध्यता नरहेको काँग्रेस नेताहरु बताउँछन् । माओवादीलाई चुनावमा भेट हाल्ने जस्तो गल्ती गर्न नसकिने उनीहरुको भनाइ छ ।

‘हिजोका घाउहरु अझै ताजै छन् । हिजो हामीलाई चन्दा मागेर चिठी पठाउने, नदिए यातना दिने, अपहरण गर्ने नेतालाई अहिले हामीले नै भोट हाल्नुपर्ने ?,’ एक काँग्रेस नेताले भने, ‘योभन्दा ठूलो अन्याय के हुन्छ ? हामी कुनै पनि हालतमा माओवादीलाई भोट हाल्न सक्दैनौं ।’

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस