‘पहिले चन्दा माग्न र हाम्रो घरबार लुट्न आउने माओवादी नेताहरु अहिले लाइन लागेर भोट माग्न आउँछन् । फकाउन खोज्छन् । हामी ती दिन कसरी बिर्सन सक्छौं र ?’

 

घोराही, २७ बैशाख । सशस्त्र युद्धकालमा काँग्रेस नेता कार्यकर्ताहरुलाई धम्काएर चन्दा माग्ने माओवादी नेताहरुले अहिले उनैलाई भोट माग्दै हिडेका छन् । युद्धकालमा माओवादीले छानीछानी काँग्रेस नेता, कार्यकर्ता र समर्थकलाई धम्कीपूर्ण भाषामा चन्दा माग्ने गर्थे । चन्दा नदिएमा अपहरण गर्ने, यातना दिने र बिस्थापित गराउनेसम्मका काम गरेका थिए ।

आज तिनै नेता स्थानीय तह निर्वाचनका उम्मेद्वार भएर विगतमा सताएकै नेताहरुसँग भोटका लागि हारगुहार गरिरहेका छन् । माओवादी पिडितहरु भने युद्धकालमा माओवादीले चन्दा माग्न पठाएका पत्र, चन्दा नदिए पक्राउ गर्न जारी गरेका पूर्जी र चन्दा दिएका रसिद् तथा भर्पाई बोकेर बसेका छन् । ‘हिजो जसले हामीलाई दुःख दिए, आज उनैलाई भोट हाल्नुपर्ने ? हामी अहिले पुराना दुःख सम्झिइरहेका छौं । माओवादीले लेखेका चिठी खोल्दै, हेर्दै गरिरहेका छन् ।’, एक पिडितले भने ।

अधिकांश पत्रमा तत्कालीन नेताहरु इन्द्रजीत चौधरी, हेमराज शर्मा डायमण्ड लगाएतले हस्ताक्षर गरेका छन् । गाउँ गाउँमा उनीहरुकै निर्देशनमा पत्र काटेर चन्दा असुली गरिन्थ्यो । अहिले डायमण्ड नै घोराही उपमहानगरपालिकाको मेयरमा उम्मेद्वार भएका छन् । उनले अहिले काँग्रेसकै भोटको बलमा निर्वाचन जित्ने आकांक्षा राखेका छन् । काँग्रेस नेता, कार्यकर्ता र शुभेच्छुकहरु भने भोट माग्न आउँदा विगतमा चन्दा माग्न आएको दिन झलझली सम्झिन्छन् ।

एक पिडित कार्यकर्ताले भने,‘पहिले चन्दा माग्न र हाम्रो घरबार लुट्न आउने माओवादी नेताहरु अहिले लाइन लागेर भोट माग्न आउँछन् । फकाउन खोज्छन् । हामी ती दिन कसरी बिर्सन सक्छौं र ?’ माओवादीकै कारण आफन्त गुमाउनुपरेको, घरबास छोड्नुपरेको र जीवन नै उजाडिएका परिवार धेरै छन् । काँग्रेसलाई मुख्य बर्ग दुश्मन मानेर आक्रमणको निशाना बनाएका कारण युद्धका अधिकांश पिडित काँग्रेस नेता, कार्यकर्ता र समर्थकहरु नै छन् । ‘आज सत्तामा जानका लागि हामी पिडितको सहारा चाहिने ? हामीलाई यो सह्य हुन सक्दैन । देउवा र प्रचण्ड मिल्दैमा हामी मिल्न सक्दैनौं । हाम्रा घाउहरु आलै छन् ।’ एक पिडितले भने ।

माओवादी नेताहरुलाई भोट हाल्नु भनेको आफ्नो आत्मा आफै मार्नु सरह भएको पिडितहरुको भनाइ छ । ५ बर्षमा एकपटक मत दिने यो महत्वपूर्ण अवसरमा गलत राजनीतिक संस्कारबाट आएका नेताहरुलाई भोट दिन नसकिने उनीहरुको भनाइ छ । ‘हाम्रो टाउको छिनाउन खोज्नेलाई अहिले कहाँ भोट दिन सकिन्छ ? हाम्रा आफन्तका आत्माले के भन्ला ? अपराधीलाई भोट दिएर सत्तामा पठाउन सकिदैन ।’ एक पिडितले दुःख पोखिन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस