दाङ, २० असोज । आउँदो शनिबारसम्म देशभर वर्षा हुने पूर्वानुमान छ । आइतबारदेखि भने मौसममा क्रमशः सुधार आउने वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण कतिपय ठाउँमा दैनिक जीवनयापन प्रभावित भएको छ ।
अहिले मनसुन सकिने बेलामा मनसुन सक्रिय भएको महाशाखाका मौसमविद् पौडेलले बताउनुभयो । “विशेषगरी वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी छ,” उहाँले भन्नुभयो, “यो आइतबारबाट करिब–करिब सुधार हुँदै जान्छ । आइतबारदेखि कतिपय ठाउँमा घाम लाग्छ, कतिपय ठाउँमा बादल, पानी पनि हुन्छ । सबैतिर खुल्दैन । क्रमिक रूपमा आइतबारभन्दा, सोमबार, सोमबारभन्दा मंगलबार, यसरी कम हुँदै जान्छ ।”
शनिबारसम्म देशका धेरै स्थानमा वर्षा हुने उहाँले बताउनुभयो । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र अति भारी वर्षा पनि हुने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशमा सबैभन्दा धेरै वर्षा मापन गरिएको मौसमविद् पौडेलले जानकारी दिनुभयो । यो अवधिमा दाङ, बाँके, बर्दिया, कास्की, पाल्पा, गुल्मी, रसुवा, काठमाडौंलगायत क्षेत्रमा बढी वर्षा मापन गरिएको उहाँले बताउनुभयो ।

