दाङ, २१ कार्तिक । नेकपा एमालेका महासचिव एवं दाङ निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोख्रेलले आगामी दुई वर्षभित्रै भूमिसम्वन्धी सबै समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

घोराही उपमनपा–१४ का विभिन्न दलित, सुकुम्वासी तथा अव्यवस्थित वसोवासीसँगको चुनावी भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले मंसिर ४ पछि एमाले सरकार बन्ने र त्यसले भूमिहिन, सुकुम्वासी र अव्यवस्थित वसोवासी तथा गुठीसम्वन्धि समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले भूमि समस्याका नाममा कतिपय दलहरुलाई सधै राजनीति गर्ने अवस्थाको अन्त्य गरिदिने बताउनुभयो । एमाले सरकार हुँदा कानुन बनाएरै सुकुम्वासी समस्या समाधान आयोग गठन गरेर समस्या समाधान गर्न काम थालेका थियौं । कतिपय पालिकामा त जनतालाई पुर्जा दिने तयारी समेत गरेका थियौं महासचिव पोख्रेलले भन्नुभयो– त्यसैबेला एमाले सरकार ढालेर भूमिहिन, सुकुम्वासीलाई जमिनको मालिक बनाउने काम हुन दिइएन । अव बन्ने एमाले सरकारले जनतालाई पुर्जा दिन्छ ।

एमालेले भूमिहिन, सुकुम्वासीलाई पुर्जा दिए भूमिसम्वन्धि समस्या देखाएर भोटमाग्ने र सधै राजनीति गर्ने उपाय सकिने डरले गठवन्धन सरकारले पुर्जा बाड्ने समयकै बेला सुकुम्वासी समस्या समाधान आयोग नै विघठन गरिदिएको पोख्रेलको भनाई थियो । एमाले सरकारले देशभरका भूमिहिन, सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई पुर्जा दिने तयारी गरिसकेका थियौं तर परमादेशले सरकार ढालिदियो र गठवन्धन सरकार बनाइदियो पोख्रेलले भन्नुभयो– गठवन्धन सरकारले सुकुम्वासी समस्या समाधान आयोग नै विघठन गरेर लाखौं भूमिहिन, सुकुम्वासीको सपनामा चोट पु¥यायो । सधै भूमि समस्याका नाममा राजनीति गर्ने गठवन्धनको खेतीको एमालेले अव सधैका लागि अन्त्य गर्नेछ ।

हर नागरिकलाई आवासको अधिकार रहेको भन्दै पोख्रेलले दलित समुदायलाई जमिन दिने र गरिव, विपन्न, सिमान्तकृत समुदायलाई घर राज्यले नै दिनुपर्ने संवैधानिक व्यवस्था रहेको उहाँको भनाई थियो । प्रति ऐलानी भए उसैको नाममा दर्ता गरी पुर्जा दिने नत्र दलित समुदायलाई त किनेरै भएपनि राज्यले जमिन उपलव्ध गराउनुपर्ने संविधानमै व्यवस्था छ प्रतिनिधिसभा सदस्य उम्मेदवार पोख्रेलले भन्नुभयो– मंसिर ४ पछि एमाले सरकारले नागरिकको घरवासको अधिकारको ग्यारेन्टी गर्छ । भूमि र आवासको अधिकारको प्रत्याभूति गराउछ । गठवन्धन सरकारले बनेको आयोग विघठन गरेर फेरि अर्को आयोग बनाउने नाटक गरेर भूमिहिन सुकुम्वासीलाई अल्झाउने काम गरिरहेको भन्दै पोख्रेलले मंसिर ४ पछि एमाले नेतृत्वको सरकारकै पालामा आयोगले गरेको तयारीअनुसार नै छिटो भन्दा छिटो पुर्जा वितरण गर्ने बताउनुभयो ।

महासचिव पोख्रेलले घोराही उपमनपा–१४ को पुलचोक खोलीगाउँ टोल, दुर्गाभवानी टोल र जनमैत्री टोलका दलित, भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित वसोवासका जनतासँग साक्षात्कार गर्नुभएको थियो । स्थानीयहरुले खोला तटवन्ध, पुल निर्माण, सडक निर्माण तथा पठनपाठनको व्यवस्थापनमा ध्यान दिन पोख्रेललाई सुझाव दिएका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस