महेश बस्नेत
काठमाडौं, १४ चैत्र । संघीय संसदका सदस्यहरुको प्रतिनिधिमण्डल मंगलबार भारत प्रस्थान गरेकोछ । संघीय संसदमा प्रतिनिधित्व गर्ने ५ राजनैतिक दलका १२ जना सांसदहरुको प्रतिनिधिमण्डल भारतको नयाँदिल्ली प्रस्थान गरेको हो ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपालको संयोजनमा सांसदहरुको प्रतिनिधिमण्डल ८ दिने भारत भ्रमणमा निस्किएको हो । नेपाल र भारतबीचको द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउँदै विभिन्न क्षेत्रमा आपसी सहयोगका मार्गहरु खोजी गर्ने लक्ष्यसहितको भ्रमण रहेको भ्रमण दलकी सदस्य एवम् नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य मेनका कुमारी पोख्रेलले बताउनु भयो ।

भ्रमणका क्रममा उक्त प्रतिनिधिमण्डलले भारतीय उच्चपदस्थ सरकारी अधिकारी, भारतीय संसद सदस्य, उद्योग तथा व्यापार क्षेत्रका नेतृत्वहरुसँग भेटघाट तथा अन्तर्क्रिया गर्नेछ । नेपाली प्रतिनिधिमण्डललाई सांस्कृतिक तथा विविधताले सम्पन्न भारतका सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रहरुको समेत अवलोकन तथा अध्ययन गराइने स्वतन्त्र युवा प्रजातान्त्रिक संघ, नेपालका अध्यक्ष अरबिन्द महतोले जानकारी गराउनु भयो ।

नेपाली प्रतिनिधिमण्डल भारतका नयाँदिल्ली र मुम्बईका कार्यक्रममा सहभागी हुनेछ । उक्त प्रतिनिधिमण्डल चैत १४ गतेदेखि १७ गतेसम्म नयाँदिल्ली र १८ गतेदेखि २१ गतेसम्म मुम्बईमा रहि भेटघाट, अन्तक्रिर्या, अवलोकन तथा अध्ययन गरि चैत २२ गते स्वदेश फर्कनेछ ।

उक्त भ्रमणदलमा नेपाली कांग्रेसका ४, नेकपा एमालेका ४, नेकपा माओवादी केन्द्रका २, रास्वपा र नेकपा एसका १/१ जना गरि १२ जना सांसदहरु रहेकाछन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस