घाेराही, २२ चैत । विज्ञान शिक्षक समाज नेपाल (स्टान) घोराही नगर कार्यसमितिको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । घाेराही १८ रझेनास्थित माध्यामिक विद्यालय रझेनाको सभाहलमा साधारणसभा शुक्रबार सम्पन्न भएकाे हाे ।
स्टान घाेराहीका अध्यक्ष प्रकाश गाैतमकाे अध्यक्षता एवम् दाङ जिल्ला अध्यक्ष रामसुरत यादवकाे प्रमुख आतिथ्यता तथा जिल्ला उपाध्यक्ष राजेन्द्र घिमिरेकाे विशिष्ट आतिथ्यतामा प्रथम वार्षिक साधारणसभा सम्पन्न भएकाे थियाे । उक्त अवसरमा प्रमुख अतिथि यादवले वर्तमान समयमा विज्ञान शिक्षकहरुको पेशागत क्षमता अभिवृद्धि र समाज र राष्ट्र निर्माणका निमित्त विज्ञान शिक्षकहरुलाई निरन्तर तालिम तथा गोष्ठीहरु सञ्चालन गर्नुपर्ने बताउनुभयाे । उहाँले स्थानीय तथा संघीय सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा प्रशस्त लगानी बढाउनुपर्नेमा जाेड दिनुभयो ।
उक्त साधारणसभामा स्टान घाेराही नगर कार्यसमितिका सचिव विष्णु हमालले वार्षिक साङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सभालाई स्टान दाङका उपाध्यक्ष राजेन्द्र घिमिरे, स्टान बंगलाचुलीका अध्यक्ष तुल्सी वाग्ले, गणेश कुमार घर्ती मगरलगायतले सम्बाेधन गर्नुभएकाे थियाे । साधारणसभामा बाेल्ने वक्ताहरुले हरेक विद्यालयमा विज्ञान प्रयोगशाला, बोटानिकल गार्डेन र विज्ञान क्लवको व्यवस्था गर्नुपर्नेमा जाेड दिएका थिए । उनीहरुले बेलाबेलामा शैक्षिक प्रदर्शनी तथा मेलाहरुको आयोजना समेत गरिनुपर्ने बताएका थिए ।
स्टान घाेराही नगर कार्यसमितिका उपाध्यक्ष बब्लु शर्माकाे स्वागत मन्तव्यबाट सुरु भएकाे साधारणसभाकाे सहजीकरण सचिव विष्णु हमालले गर्नुभएकाे थियाे ।












