घोराही, ४ बैशाख । गजल साहित्यको प्रवर्धन तथा यस विधामा क्रियाशील स्रष्टाहरूको सम्मानका लागि चौथो दाङ गजल महफिल–२०८२ आगामी वैशाख ६ गते घोराहीमा आयोजना हुने भएको छ।
गजल अभियान दाङको आयोजनामा नेपाल पत्रकार महासङ्घको सभाहल, घोराहीमा हुने महफिलको तयारी पूरा भएको संयोजक प्रबल विष्टले जानकारी दिनुभएकाे छ ।
कार्यक्रममा चर्चित गजल गायक सन्तोष रजौरेले गजल प्रस्तुति दिनुहुने छ । त्यस्तै, गजल वाचनमा सुनिल पुन बिरही, अभि क्षेत्री ‘समर्पण’ र निर्मला शर्मा सहभागी हुनुहुने छ ।
गजल अभियान दाङले विगतदेखि नै जिल्लामा नियमितरूपमा गजल महफिलको आयोजना गर्दै आएको र यसै परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि कार्यक्रम तय गरिएको संयोजक विष्टले बताउनु भयाे ।
महफिलमा गजल वाचन र गायनका अतिरिक्त विशिष्ट स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । गजलकार रामगोपाल यादव, यादवनाथ योगी र शशी शर्मा मजगैँयालाई विशेष सम्मान गरिने कार्यक्रम रहेको छ।
संयोजक विष्टले गजलमा रुचि राख्ने सम्पूर्ण गजलप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन अनुरोध गरेका छन्।


