खगेश्वर पाैडेल
घाेराही, १८ बैशाख । पेशागत महासंघ जिल्ला समन्वय समिति दाङले आज अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका श्रमिकहरुलाई सम्मान गरेको छ ।

नेकपा एमाले दाङ जिल्ला अध्यक्ष शिवकुमार आचार्यको प्रमुख आतिथ्यता एवम् नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी र पेशागत महासंघ नेपालका केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष उद्दव न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे । कार्यक्रममा घोराही उपमहानगरपालिकाको कार्यालयमा कार्यरत सरसफाई कर्मचारी सीतापति चौधरी, घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी अटोचालक यमराज खनाल, घोराही १८ का कृषक बुद्धिराम चौधरी, घोराही १३ का अटोचालक शान्तिराम बुढा र राष्ट्रसेवक बहुउद्देश्य सहकारी संस्थाका कार्यालय सहयोगि रामसिंह चौधरीलाई सम्मानपत्र, नगद र खादा ओढाई सम्मान गरिएको थियो ।

कार्यक्रमका वक्ताहरुले श्रम संस्कृतिको विकास नहुँदासम्म देशमा अपेक्षित विकास हुन नसक्ने भएकाले हामीहरुको जीवनशैलीमा श्रमको बाहुल्यता हुनुपर्ने बताएका थिए । पाखुरीको बलमा श्रम गर्नेहरुको योगदानबाट उत्पादित वस्तुहरुको प्रयोग गर्न चाहने तर उनीहरुको सम्मान नगर्ने प्रकारको व्यवहारले गर्दा आज देशका धेरै युवाहरु आफ्नै घर आँगनको कर्म छोडी कामको खोजीमा विदेशीएको वक्ताहरुले बताएका थिए । कार्यक्रमका वक्ताहरुले आजैका दिनबाट आफ्ना व्यवहार र चिन्तनमा परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पेशागत महासंघ नेपाल दाङ जिल्ला समन्वय समितिका अध्यक्ष खिम बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य, पेशागत महासंघ नेपालका केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष उद्दव न्यौपाने, नेकपा एमाले जिल्ला उपाध्यक्ष एवं जनसंगठन विभाग प्रमुख मनोहर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

पेशागत महासंघ दाङका उपाध्यक्ष लालमणि खड्काकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमको सहजीकरण महासंघका जिल्ला सचिव ठाकुर खनालले गर्नुभएकाे थियाे । कार्यक्रम राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आयाेजना गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस