घोराही, ११ साउन । नेपाल पत्रकार महासंघ दाङ शाखाले बजारमा देखापरेको कृत्रिम ग्यास अभावको विषयमा जिल्ला प्रशासन कार्यालय दाङमा ध्यानाकर्षण गराएको छ।
पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका पूर्व केन्द्रीय सदस्य सरद अधिकारी सहितको पत्रकारको टोलीले जिल्ला प्रशासन कार्यालय दाङलाई बजारमा देखा परेको कृत्रिम ग्यास अभावलाई तत्काल हटाउन विशेष पहल थाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराएको छ l
बजारमा देखापरेको कृत्रिम ग्यास अभावलाई हटाउने विषयमा जिल्ला प्रशासनले विभिन्न कामहरु गरिरहेको सम्बन्धित ग्यास उद्योग अनि विक्रेताहरुलाई ध्यानाकर्षण गराएको, उद्योग वाणिज्य संघ, प्रहरीको युनिटलाई समेत परिचालन गरेको, स्थानीय निकायसँग पनि यस विषयमा छलफल गरिरहेको र अभावलाई हटाउन विशेष रणनीति तयार पार्ने जिल्ला प्रशासनले जनाएको छ। कुनै पनि ठाउँमा ग्यासको कालोबजारी गरेको थाहा पाएमा सूचना दिन जिल्ला प्रशासन कार्यालयले सबैमा अनुरोध गरेको छ।
सञ्चारकर्मीहरूसँग छलफल गर्दै प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले खाना पकाउने ग्यासलाई सहज बनाउनका लागि आफूहरू दिनरात खटिएको बताउनुभयो l दाङका बजारहरुमा यस विषयमा विशेष अनुगमन र निगरानी गरिरहेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा रानाले बजारमा कृत्रिम अभाव भइरहेको समयमा सबै पक्ष सजग रहनुपर्ने बताउनुभयो । सञ्चारकर्मीहरुले यस विषयमा विशेष निगरानी राख्नुपर्ने उहाँहरुको भनाइ छ । यता नेपाल पत्रकार महासंघ दाङले सम्पूर्ण सञ्चारकर्मीहरूलाई बजारमा खाना पकाउने ग्यासमा देखापरेको कृत्रिम अभावका विषयमा विशेष चासो र निगरानी राख्न अनुरोध गरेको छ।
सर्वसाधारणहरू ग्यासको अभावमा समस्यामा परेकाले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चारकर्मीहरूले ग्यासमा देखापरेको कृतिम अभाव र कालोबजारीलाई हटाउन भूमिका खेल्नुपर्ने पत्रकार महासंघको ठहर छ।











