oplus_2

घाेराही, ३ साउन । विज्ञान शिक्षक समाज नेपाल (स्टान) घाेराही नगर कमिटीले विज्ञान शिक्षकका लागि एकदिने अभिमुखिकरण तालिम सञ्चालन गरेकाे छ । विज्ञान शिक्षकहरुकाे क्षमता विकाससँगै विशिष्टिकरण तालिका, लेखन शैली तथा शिक्षण सिकाइ प्रक्रियामा एआईकाे प्रयाेगका बिषयमा शिक्षकहरुलाई प्रशिक्षण दिइएकाे छ ।

स्टान घाेराहीका अध्यक्ष प्रकाश गाैतमकाे अध्यक्षता एवम् सामाजिक विकास महाशाखा घाेराहीका शिक्षा अधिकृत भवानी गिरीकाे प्रमुख आतिथ्यता तथा स्टानका केन्द्रीय उपाध्यक्ष विकास गाैतमकाे विशिष्ट आतिथ्यतामा तालिम सञ्चालन गरिएकाे थियाे ।

तालिम उद्घाटन सत्रमा बाेल्दै शिक्षा अधिकृृत गिरीले अहिलेका बालबालिका प्रविधिप्रति झुकाव राख्ने भएकाले विज्ञान शिक्षकहरुले प्रविधिकाे उपयाेग गरि शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा जाेड दिनुभयाे । प्रविधिकाे चरम उपभाेगी अहिलेकाे पुस्तालाई परम्परागत शिक्षणशैलीले आकर्षक गर्न नसक्ने भएकाले शिक्षण पद्धतिमा शिक्षकहरु अध्यावधिक हुन गिरीले आग्रह गर्नुभयाे । उहाँले विद्यार्थीहरुकाे मुल्यांकनमा शिक्षकहरु संयमित र निष्पक्ष हुनुपर्नेमा शिक्षकहरुलाई सतर्क गराउनुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि केन्द्रीय उपाध्यक्ष विकास गाैतमले विज्ञान शिक्षकहरुकाे क्षमता विकाससँगै विद्यार्थीहरुलाई नवप्रवर्तन तथा अन्वेषण गर्नसक्ने सक्षम जनशक्ति निर्माणका लागि स्टानकाे गठन गरिएकाे बताउनुभयाे । उहाँले तालिमबाट सिकेकाे ज्ञानलाई कक्षाकाेठामा अधिक्तम उपयाेग गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयाे ।

दिपशिखा सेकेन्डरी स्कुलमा सञ्चालित तालिमका प्रशिक्षकहरुमा स्टान लुम्बिनी प्रदेशका अध्यक्ष यामनाथ पाैडेल र लेखक तथा राेष्टर प्रशिक्षक हिरामणि शर्मा रहनुभएकाे थियाे । तालिमका सहभागीहरुलाई प्रशिक्षक पाैडेलले विज्ञान विषय शिक्षणमा एआईकाे प्रयाेगका बारेमा प्रशिक्षण दिनुभएकाे थियाे भने शर्माले विज्ञान विषयकाे विशिष्टिकरण तालिका तथा लेखन शैलीका विषयमा प्रशिक्षण दिनुभएको थियाे ।

नगर उपाध्यक्ष बब्लु शर्माकाे स्वागत मन्तव्यबाट सुरुभएकाे उद्घाटन सत्रमा स्टान लुम्बिनी प्रदेशका उपाध्यक्ष मानबहादुर बस्नेत, जिल्ला उपाध्यक्ष राजेन्द्र घिमिरे र दिपशिखा सेकेन्डरी स्कुलका पूर्व प्रिन्सिपल सन्ताेष रेग्मीले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।

स्टान घाेराहीकाे आयाेजना, ट्रिनिटी प्रकाशनकाे आर्थिक सहयाेग तथा मुनाल पुस्तक पसल घाेराहीकाे स्टेशनरी सहयाेगमा भएकाे तालिममा कक्षा ८ देखि १० सम्म अध्यापनरत सामुदायिक तथा संस्थागत विद्यालयका ८२ जना विज्ञान शिक्षकहरुकाे सहभागीता रहेकाे थियाे । उक्त तालिमकाे सहजीकरण स्टान घाेराही नगरका सचिव विष्णु हमालले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस