घोराही, १६ असार । सरकारले आउँदो आर्थिक वर्षबाट सुनमा बिलासिता कर अनि पत्थरमा भ्याट लगाउन लागेकोमा दङालीहरुले यसको कडा शव्दमा बिरोध गरेका छन् । यस सम्बन्धि घोराहीमा आयोजना गरिएको सर्वपक्षिय कार्यक्रममा सहभागिहरुले सुन बिलासिताको वस्तु नभएर सबै नेपालीको आस्था, धर्म, संस्कृतिसँग जोडिएको धातु भएकाले यसलाई विलासिताको करको दायरामा राख्न नहुने निष्कर्ष निकालेका छन् ।
सबै पक्ष सहभागि ‘उपभोक्ता सचेतना’ कार्यक्रममा सहभागिहरुले सुनमा लगाइएको विलासिता कर र पत्थरमा लगाउन लागिएको भ्याट तत्काल फिर्ता गर्नुपर्ने माग गरेका छन् । यस्तो भएमा प्रत्यक्षरुपमा नागरिकहरु महंगीको मारमा पर्ने, व्यवसायहरु पलायन हुने र मुलुककै अर्थतन्त्रमा गम्भीर असर पुग्ने निष्कर्ष निकाल्दै सुन महंगीका कारण बजार भाउ समेत आकाशिने भएकाले सरकारलाई यसमा गम्भीरताका साथ ध्यान दिन दङालीहरुले माग गरेका छन् ।
सुन चाँदी व्यवसायी संघ घोराही र तुलसीपुरले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ताकारुपमा धारणा राख्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले सुनलाई विलासिताको सामान भन्नु नै गलत भएको भन्दै तत्काल सुनमा लगाउन लागिएको विलासिता कर अनि पत्थरमा लगाउन लागिएको भ्याट हटाउन सरकारसँग माग गर्नुभयो । बजारमा आएको निराशा र मन्दीलाई यस्तो निर्णयले थप प्रोत्साहन गर्ने भएकाले तत्काल निर्णय सच्याउन प्रियासनले सरकारसँग जोडदार माग गर्नुभयो । उहाँले व्यवसायीले गरेको आन्दोलन नागरिकमैत्री हुनुका साथै मुलुकको पक्षमा समेत भएको तर्क राख्नुभयो ।
सुनचाँदी व्यवसायी महासंघ दाङका अध्यक्ष बिनोदकुमार विश्वकर्माको अध्यक्षतामा भएकाे कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेकपा एमालेका अध्यक्ष शिवकुमार आचार्यले सुनचाँदी व्यवसायीहरुले सुरु गरेको आन्दोलन जायज भएकाले आफुहरुको पूर्णरुपमा समर्थन रहेको बताउनुभयो । यसैगरी विशिष्ट अतिथि नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले सुन कुनै पनि कोणबाट विलासिताको सामान नभएकाले यस सम्बन्धि गरिएका पछिल्ला कर सम्बन्धि निर्णयलाई सच्चाउन सरकारसँग माग गर्नुभयो । यसैगरी विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले सरकारले तत्काल सुनलाई विलासिताको सामान भनेर लगाउन लागेको कर फिर्ता गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा उद्योग वाणिज्य संघ लुम्बिनीका कोषाध्यक्ष नारायाण भुसालले सुनचाँदी व्यवसायीहरुले थालेको आन्दोलन जायज भएकाले आफुहरुको पूर्ण समर्थन रहने बताउनुभयो । यसैगरी दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले उद्योगी व्यवसायीहरुले तिरेको करबाट मुलुक चलाउन खोज्नेहरुले व्यवसायीहरुलाई पलायनको बाटोतर्फ धकेलेकोमा विरोध गर्दै सुनमा लगाएका सबै करहरु हटाउनुपर्ने माग गर्नुभयो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले सुनलाई विलासि सामान मानेर कर लगाउँदा यसबाट नागरिकहरु प्रत्यक्ष मारमा पर्ने भएका कारण पत्रकार महासंघ पनि व्यवसायीहरुको आन्दोलनकाे साथमै रहेको बताउनुभयो । सो अवसरमा सुनचाँदी व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ध्रुबकुमार गहतराजले विषय वस्तु माथि प्रकाश पार्दै सुनमा लगाउन लागिएको विलासिता कर र पत्थरमा लगाउन लागिएको भ्याट नहटाउँदासम्म आफुहरुको आन्दोलन जारी रहने बताउनुभयो ।
सो अवसरमा विभिन्न व्यवसायी एवं सर्वसाधारणहरुले सुनमा लगाउन लागिएको विलासिता कर र पत्थरमा लगाउन लागिएको भ्याटले पार्ने असरको विरुद्धमा बोल्दै सरकारलाई तत्काल यस्तो निर्णय सच्याउन माग गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण संघका घोराही सचिव अभिषेक सेर्पाइलीले गर्नुभएको थियो ।
यसैबीच सुनचाँदी व्यवसायीले सुनमा लगाइएको विलासिता सम्बन्धि कर खारेजीलगायतका मागहरु राखि जारी राखेको आन्दोलन अन्तर्गत मंगलबार तुलसीपुरमा कार्यक्रम गर्ने जनाएका छन् । हाल सुनचाँदी व्यवसायीले देशभर पसल बन्द गरेर आन्दोलन गरिरहेका छन् ।












