घोराही, ९ साउन । बुद्ध ईन्टरनेशनल हस्पिटल प्रा.लि., घोराही–१५ दाङ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (ACAN) दाङबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
बिहीबार प्राली र संघबीच भएको सम्झौता अनुसार संघका सबै सदस्यहरूलाई बुद्ध ईन्टरनेशनल हस्पिटलबाट विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट दिइने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिनुभयाे । शर्माका अनुसार हस्पिटलले संघका सदस्यहरुलाई औषधि खरिदमा समेत ७ प्रतिशत छुट दिने सम्झाैता भएकाे छ ।
सम्झौतापत्रमा बुद्ध इन्टरनेशनल हस्पिटल प्रालीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालाराम शर्मा र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका तर्फबाट अध्यक्ष सिए कैलाश खत्रीले हस्ताक्षर गर्नुभएको थियाे । सम्झौता अनुसार संघका सदस्यहरूले इनपेशेन्ट तथा आउटपेशेन्ट सेवा, आकस्मिक सेवा, प्रयोगशालासम्बन्धी परिक्षण, सर्जरी तथा अन्य उपचार सेवाहरूमा छुट प्राप्त गर्न सक्ने हस्पिटलले जनाएको छ ।
छुट प्राप्त गर्नको लागि सम्बन्धित सदस्यले आफ्नो परिचयपत्र तथा सोको प्रतिलिपि अनिवार्यरूपमा हस्पिटलमा पेश गर्नुपर्ने सम्झाैतामा उल्लेख छ । सम्झाैता अनुसार भएका छुट अन्य छुट योजनासँग जोड्न नपाइने र तेस्रो पक्षद्वारा लाग्ने शुल्क जस्तै: बाह्य प्रयोगशालाका सेवाहरू छुटमा नपर्ने उल्लेख गरिएकाे छ ।
सम्झाैतामा दुबै पक्षले सम्झौताको गोपनीयता कायम राख्ने र स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेवारी सेवा लिने व्यक्तिको हुने स्पष्ट गरिएको छ । यस सम्झौताबाट चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्यहरूले स्थानीय स्तरमै गुणस्तरीय र सुलभ दरमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने आशा गरिएको छ ।












