घोराही, ४ असाेज । वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माद्वारा लेखिएको आत्मकथा ‘जीवन प्रवाह’ घोराहीमा शनिबार लोकार्पण गरिएको छ। बिएन पुस्तक संसारको आयोजनामा सम्पन्न कार्यक्रम समाजसेवी एकराज शर्माको अध्यक्षता, विपश्यना साधक तथा प्रशिक्षक दोर्जी छिरिङ शेर्पाको प्रमुख आतिथ्यता र पूर्व राजदूत तथा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै पुस्तकका सम्पादक टीकाराम उदासीले ‘जीवन प्रवाह’ नारायणप्रसाद शर्माको जीवन अनुभूति र नेपाली समाजको इतिहास–परम्परा समेटेर तयार गरिएको बताउनुभयाे । उहाँका अनुसार १७ वटा अध्यायमा विभाजित पुस्तकमा व्यक्तिगत जीवन, सामाजिक र साहित्यिक यात्रा, पत्रकारिता, समाजसेवा, राजनीति लगायतका विविध पक्षको अनुभव समेटिएको छ।
त्यस्तै प्रमुख अतिथि दोर्जी छिरिङ शेर्पाले शर्माले विभिन्न क्षेत्रमा क्रियाशील रहँदै नारायण प्रसाद शर्माले अनेक पुस्तक प्रकाशित गर्ने क्रममा आत्मकथा ‘जीवन प्रवाह’ ल्याएको उल्लेख गर्दै, यस पुस्तकमा लेखकको जीवनसँगै नेपाली समाजको ऐतिहासिक पक्ष उजागर भएको विचार व्यक्त गर्नुभयाे ।
अन्य वक्ताहरूले पनि आत्मकथा ‘जीवन प्रवाह’ले लेखकको जीवनयात्रासँगै नेपाली समाजको इतिहास र परम्परालाई उजागर गरेकाले यो कृति अध्ययन योग्य रहेको धारणा राखेका थिए। युगबोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मी आचार्यको स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमको सञ्चालन बिएन पुस्तक संसार घोराहीका व्यवस्थापक सूर्य बिसीले गर्नुभएकाे थियाे।












