घोराही, ११ फाल्गुन । रोटरी क्लब अफ दाङको आयोजनामा घोराही उपमहानगरपालिका मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । रोटरी क्लब दाङद्वारा आयोजित बिष्णु प्रसाद शर्मा घिमिरे स्मृति रोटरी हाजिरीजवाफ प्रतियोगिता २०२५ पद्मोदय नमुना माध्यामिक विद्यालय भरतपुरमा आइतबार सम्पन्न भएको छ ।

कक्षा ९ र १० का विद्यार्थीका लागि आयोजना गरिएको प्रतियोगितामा गुरुकुल एकेडेमीका सुवेक्षा पाण्डे, आर्यन घर्ती र सोहम खनालको समुह प्रथम भएको थियो । यसैगरी, उक्त प्रतियोगितामा मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलका सबिता चौधरी, विकास जिएम र दिपेश डाँगीको समुह द्वितीय र जनज्योति विद्यामन्दिरका हेमन्त न्यौपाने, शक्तिम सुवेदी र निरुता खनालको समुह तृतीय भएको थियो ।

क्लबका अध्यक्ष प्रदिप सुवेदीको अध्यक्षता एवम् घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा आयोजित प्रतियोगितामा सामुदायिक र संस्थागत गरि जम्मा १२ ओटा विद्यालयहरु सहभागी भएका थिए । छनौट चरणबाट ५ ओटा विद्यालयहरु फाइनल चरणमा प्रवेश गरेका थिए । फाइनल चरणमा प्रवेश गरेका विद्यालयहरु ज्ञानमाला एकेडेमी, जनज्योति विद्यामन्दिर, नेपाल पुलिस स्कुल, गुरुकुल एकेडेमी र मेचिकाली सेकेन्डरी बोर्डिङ स्कुल बिच प्रतिस्पर्धा गराइएको थियो ।

कार्यक्रम उद्घाटन सत्रमा शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्य, पद्मोदय नमुना माविका प्रधानाध्यापक लोकबहादुर बस्नेतलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा पुरस्कार स्थापनाकर्ता तीर्थराज सन्तोषीले आफ्ना स्वर्गीय पिता बिष्णु प्रसाद शर्मा घिमिरेको सम्झनामा हरेक वर्ष फेब्रुअरी २३ तारिखमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरि पुरस्कार वितरण गर्ने गरिएको बताउनुभयो । उक्त कार्यक्रमको सहजीकरण रोटरी क्लब अफ दाङका सचिव रोशन दाहालले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस