कपिलवस्तु, १४ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना बढ्दै गएको बताउनु भएको छ । दोस्रो कपिलवस्तु तिलौराकोट खुला नकआउट राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने आधार तयार भएकोमा खुसी व्यक्त गर्नु भएको छ ।

मुख्यमन्त्री आचार्यले खेलकुद प्रतिस्पर्धा, अनुशासन र पारदर्शिता सिक्ने माध्यम भएकाले यसलाई जीवन पद्धतिसँग जोड्न सकिने उल्लेख गर्नु भयो । उहाँले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा खेल पूर्वाधारको विकास गर्न सकिने बताउँदै कपिलवस्तुमा रंगशाला निर्माणका लागि सरकारले साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।`खेल पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ खेलाडी उत्पादनका लागि नियमित प्रतियोगिताहरू आयोजना गर्न प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ,´मुख्यमन्त्री आचार्यले भन्नु भयो, `कपिलवस्तुमा रंगशाला निर्माणका लागि स्थानीय सरकारका प्रमुखसँग मेरो छलफल भइसकेको छ। आगामी वर्षको सम्पूरक बजेटमार्फत यसलाई सम्बोधन गर्न सरकारले आवश्यक पहल लिनेछ। समझदारीका आधारमा यो आयोजनालाई अगाडि बढाउने छौं ।´

लुम्बिनी प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुदले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कपिलवस्तु जिल्ला फुटबल संघलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

फुटबल संघका अध्यक्ष तिलक थापाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थी, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल लगायतको विशेष उपस्थिति रहेको थियो । प्रतियोगितामा विभिन्न आठ समूहले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस