जेठ २३, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक बस्न नपाउँदै स्थगित गरिएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।
गृह मन्त्रालयमा देखिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले संसद् चल्न दिइरहेका छैनन्। सदन सञ्चालनका लागि छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन।
आज बसेको विपक्षी दलहरूको बैठकले माग पुरा नभएसम्म प्रतिनिधिसभाको बैठक सञ्चालन हुन नदिने अडान यथावत् राख्ने निर्णय गरेको छ। उक्त बैठकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूको सहभागिता रहेको थियो।












