दाङ, असार ०२ । लमही नगरपालिका–६ ले जोखिमयुक्त क्षेत्रमा कार्यरत नागरिकहरूको सुरक्षालाई ध्यानमा राख्दै १५० बढी व्यक्तिको म्यादी जीवन बीमा गरेको छ। वडा कार्यालयले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, दाङ उपशाखासँगको सहकार्यमा बीमा कार्यक्रम अघि बढाएको हो।
वडा अध्यक्ष श्याम नारायण चौधरीका अनुसार गाडी चालक, अटो चालक, कृषि तथा कुखुरा फर्मका मजदुर, घर निर्माण तथा वायरिङ क्षेत्रमा संलग्न श्रमिकहरूलाई लक्षित गरी बीमा गरिएको हो। “१८ देखि ५५ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गरी चालु आर्थिक वर्ष २०८१/८२ को वडाको बजेटबाट बीमा गरिएको हो,” अध्यक्ष चौधरीले जानकारी दिनुभयो।
उहाँका अनुसार हाल छुटेका नागरिकलाई समेत बीमा गरिदिने तयारी गरिएको छ र इच्छुक व्यक्तिहरूले वडा कार्यालयसँग सम्पर्क गर्न सक्नेछन्।
बीमा योजनाअनुसार दुर्घटनामा परेर उपचार गराउँदा बीमितले १० हजार रुपैयाँसम्म भुक्तानी पाउनेछन्। पूर्ण अशक्तता भएमा ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म, दुर्घटनाबाट मृत्यु भएमा २ लाख रुपैयाँ र किरिया खर्चबापत थप २५ हजार रुपैयाँ तथा अन्य कारणले मृत्यु भएमा १ लाख रुपैयाँसहित किरिया खर्चका लागि थप २५ हजार रुपैयाँ बीमाले उपलब्ध गराउनेछ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लुम्बिनी प्रदेश प्रमुख बिमल खड्काले बीमाले जोखिम क्षेत्रमा कार्यरत श्रमिकहरूको जोखिम बहन गर्दै अप्ठ्यारो परिस्थितिमा राहत दिने बताए।
सोमबार वडा कार्यालयले लघु जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रमसमेत आयोजना गर्दै नागरिकलाई बीमाको महत्वबारे जानकारी गराएको थियो। बीमा गरिदिएपछि नागरिकहरूले वडा कार्यालयप्रति कृतज्ञता व्यक्त गर्दै विपन्न वर्गप्रति वडा समितिको सहयोगी भावना रहेको बताएका छन्।











