काठमाण्डौ, असार ३ । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे स्कटल्यान्डको ग्लास्गोमा सुरु हुनेछ।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी यस शृङ्खला आइतवारदेखि सुरू भएको हो।

पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो। त्यस्तै हिजो भएको दोस्रो खेलमा नेपाल रोमाञ्चक प्रतिस्पर्धापछि नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भयो। यो खेल अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै पहिलो पटक तीन सुपर ओभरसम्म पुगेको ऐतिहासिक खेल बनेको थियो।

हालसम्म स्कटल्यान्ड र नेदरल्यान्ड्सले समान दुई अङ्क बटुलेका छन्। नेपालले अब आफ्नो तेस्रो खेल बिहीवार नेदरल्यान्ड्सविरुद्ध र चौथो तथा अन्तिम खेल शुक्रवार स्कटल्यान्डविरुद्ध खेल्नेछ।

शृङ्खलामा सहभागी तीन टोलीले डबल राउन्ड रोबिन फर्म्याटमा एक–अर्कासँग दुई–दुईपटक प्रतिस्पर्धा गर्ने छन्। अन्त्यमा सर्वाधिक अङ्क हासिल गर्ने टोली शृङ्खलाको विजेता घोषित हुनेछ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस