काठमाडौं, असार ५ । देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ। पछिल्ला तीन घण्टामा सबैभन्दा धेरै वर्षा बाँकेमा ४७.२ मिलिमिटर मापन गरिएको छ। आज (बिहिबार) दिउँसो पनि देशका सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। यसैबीच, जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकका नदी क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ।

विभागले जारी गरेको विज्ञप्तिमा असार ३ देखि ७ गतेसम्म चीनको तिब्बत क्षेत्रमा पर्ने भोटेकोशी नदीको जलाधार क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सूचना प्राप्त भएको उल्लेख गरिएको छ। उक्त सूचना चीनको प्रहरी कार्यालयमार्फत प्राप्त भएको विभागले जनाएको छ।

विभागका अनुसार हालको भू-उपग्रह चित्र तथा मौसम विश्लेषणका आधारमा ती क्षेत्रमा मनसुनको प्रभाव रहे पनि कमजोर अवस्थामा रहेको र हल्कादेखि मध्यम वर्षासम्मको सम्भावना रहेको छ।

यद्यपि, मौसममा आकस्मिक परिवर्तन तथा सम्भावित बाढीजन्य जोखिमलाई ध्यानमा राख्दै विभागले निरन्तर अनुगमन गरिरहेको र अद्यावधिक जानकारी नियमित रूपमा सार्वजनिक गरिने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस