काठमाडौँ, असार ७ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि घरेलु टोली स्कटल्यान्डले जितेको छ। गएराति सम्पन्न अन्तिम खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भयो।

नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी रहेको शृङ्खलाको अन्तिम खेलमा जीतका लागि १९४ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ५ बलमा १५९ रनमै अलआउट भयो।

नेपालका तर्फबाट रुपेश सिंहले सर्वाधिक ४३ रन र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए। बलिङतर्फ स्कटल्यान्डका क्रिस ग्रेभ्सले ३ विकेट तथा सफियान सरिफले २ विकेट लिए।

यसअघि ग्लास्गोमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएको थियो। उसका जर्ज मन्सीले सर्वाधिक ७८ रनको योगदान दिए।

नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र रुपेश सिंहले समान १–१ विकेट लिए।

चार खेलमा दुई जीत हात पार्दै स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा रहँदै उपाधि जित्न सफल भयो। समान चार खेलमा दुई जीतसहित नेपाल दोस्रो स्थानमा रह्यो भने नेदरल्यान्ड्स तेस्रो भयो।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस