दाङ , असार१० । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ। गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले ४५ करोड ११ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो।

गाउँपालिकाले प्राप्त गर्ने कुल रकममध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ५० लाख, सशर्त अनुदानतर्फ १७ करोड २६ लाख, राजस्व बाँडफाँडबाट ९ करोड ४० लाख ५३ हजार ३८३ रुपैयाँ, समपूरक अनुदानतर्फ ९७ लाख र विशेष अनुदानतर्फ ६९ लाख रुपैयाँ प्राप्त हुने उल्लेख गरिएको छ। यसरी संघीय स्रोतबाट जम्मा ३७ करोड ८२ लाख ५३ हजार ३८३ रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको हो।

प्रदेश सरकारबाट भने वित्तीय समानीकरण अन्तर्गत ६३ लाख ३८ हजार, सशर्त अनुदानमा ७५ लाख, विशेष अनुदानमा १८ लाख, समपूरक अनुदानमा ७५ लाख र राजस्व बाँडफाँडमार्फत ७८ लाख ५९ हजार १ सय रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यी सबै स्रोतबाट जम्मा ३ करोड ९ लाख ९७ हजार १ सय रुपैयाँ प्राप्त हुनेछ।

आन्तरिक आम्दानीतर्फ गाउँपालिकाले ८० लाख ५० हजार ४ सय रुपैयाँ, घरजग्गा दर्ता शुल्कबाट ४० लाख र नदीजन्य पदार्थको बिक्री वितरणबाट ३५ लाख गरी जम्मा १ करोड ५५ लाख ५० हजार ४ सय रुपैयाँ संकलन हुने अनुमान गरेको छ। साथै, चालु आर्थिक वर्षको प्रारम्भमा २ करोड ६३ लाख ४० हजार १ सय १७ रुपैयाँको बैंक मौज्दात तथा बचत रहने प्रक्षेपण गरिएको छ।

यसरी गरी दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित कुल ४५ करोड ११ लाख ४१ हजार रुपैयाँ बराबरको आय प्रस्तुत गरेको छ।

गत आर्थिक वर्षमा चालु खर्चको हिस्सा ७३.५ प्रतिशत र पुँजीगत खर्च ३६.५ प्रतिशत रहेको थियो भने यस वर्ष चालुतर्फ ६१ प्रतिशत र पुँजीगत खर्च ३८.३९ प्रतिशत हुने उल्लेख गरिएको छ। संघीय सशर्त अनुदानमध्ये चालुतर्फ १३ करोड ३७ लाख र पुँजीगततर्फ ३ करोड ८९ लाख छुट्याइएको छ। त्यस्तै, प्रदेश सशर्त अनुदानबाट पुँजीगत खर्चका लागि ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

१९औं गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष पिमा वली खड्काले “दंगीशरण गाउँपालिकाको आर्थिक ऐन २०८२”, “वार्षिक बजेट तथा कार्यक्रम”, “बिनियोजन ऐन २०८२”, साथै “मटवा प्रणाली संरक्षण, प्रवर्द्धन र विकास सम्बन्धी विधेयक” सभासमक्ष प्रस्तुत गर्नुभएको थियो।
यसअघि आइतबारको अधिवेशनमा गाउँपालिका अध्यक्ष शम्भु गिरीले १९५ बुँदामा आधारित नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको थियो।
गाउँसभाको तेस्रो बैठक आउँदो बिहीबार, असार १२ गतेका लागि बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस