सल्यान, असार १२ । आर्थिक वर्ष २०८२/०८३ का लागि सल्यान जिल्लाका १० मध्ये ९ वटा स्थानीय तहले गरी कुल ५ अर्ब १६ करोड १३ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। बागचौर नगरपालिकाले भने अझै बजेट प्रस्तुत गरिसकेको छैन।
शारदा नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका, कपुरकोट, त्रिवेणी, कालीमाटी, सिद्धकुमाख, दार्मा, कुमाख र छत्रेश्वरी गाउँपालिकाले आ–आफ्ना गाउँसभा र नगरसभाबाट नीति तथा कार्यक्रम पारित गर्दै बजेट सार्वजनिक गरेका हुन्। यी सबै पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, सामाजिक सुरक्षा र दिगो विकासलाई प्राथमिकतामा राखेका छन्।
सार्वजनिक बजेटमध्ये सबैभन्दा बढी शारदा नगरपालिकाले १ अर्ब १९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ। त्यसपछि बनगाड कुपिण्डे नगरपालिकाको ७९ करोड, छत्रेश्वरीको ५२ करोड ५३ लाख, कुमाखको ४९ करोड ९३ लाख, त्रिवेणीको ४५ करोड ८४ लाख, दार्माको ४४ करोड ९२ लाख, कालीमाटीको ४३ करोड, कपुरकोटकाे ४२ करोड ६८ लाख र सिद्धकुमाखको ३५ करोड ३७ लाख रुपैयाँ बजेट रहेका छन्।
कपुरकोट गाउँपालिकाले यस वर्ष पहिलोपटक बेमौसमी तरकारी खेतीलाई विशेष प्राथमिकता दिएको छ। पालिकाका अध्यक्ष दुर्गाबहादुर पुनका अनुसार उत्पादनदेखि बजारीकरणसम्म किसानलाई सहजीकरण गरिनेछ। साथै, ‘एक घर एक धारा’ अभियानअन्तर्गत प्रत्येक घरमा सुरक्षित खानेपानी पु¥याउने, खरको छाना हटाउने, विद्यालय बस सञ्चालन गर्ने र उज्यालो पालिका निर्माणजस्ता कार्यक्रम अघि सारिएको छ।
‘हामीले शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई सन्तुलनका साथ समेटेका छौं,’ अध्यक्ष पुनले बताउनुभयो, ‘सञ्चार, प्रविधि र हरित ऊर्जा प्रवर्द्धनका लागि पनि बजेट विनियोजन गरिएको छ।’
त्रिवेणी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई व्यवस्थित, व्यावसायिक र सहकारी प्रणालीमार्फत् अघि बढाउने नीति लिएको छ। अध्यक्ष खिमबहादुर रावतका अनुसार, ‘कृषकहरूलाई प्रविधि, तालिम, बिउ, मल, औजार र बजारीकरणसम्मको सेवा समेटिएको कार्यक्रम बजेटमार्फत् प्रस्तुत गरिएको छ।’ साथै शिक्षा, स्वास्थ्य, खानेपानी, साना तथा घरेलु उद्योग, स्वरोजगार तालिम र सीपमूलक कार्यक्रमहरू पनि बजेटीय प्राथमिकतामा राखिएको छ।
यस्तै, बनगाड कुपिण्डे नगरपालिकाले सडक विस्तार, पूर्वाधार विकास, खानेपानी, शिक्षाको सुधार र स्वास्थ्य सेवा पहुँच विस्तारमा बजेट केन्द्रित गरेको जनाएको छ। नगरप्रमुख कर्णबहादुर बुढाथोकीले भने, ‘गाउँबस्तीमा यातायात, खानेपानी र विद्यालयमा अझै सुधार आवश्यक भएकाले सोहीअनुसार योजना बनाइएको हो।’ उहाँका अनुसार विद्यालयहरूको गुणस्तर अभिवृद्धि, स्वास्थ्य चौकीमा उपकरण र जनशक्ति थप्ने योजना पनि बजेटमा समावेश गरिएको छ।
बागचौर नगरपालिकाले भने छिट्टै बजेट सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर कठायतका अनुसार, ‘नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ र बजेट यही साताभित्र ल्याइनेछ।’
जिल्लाका अधिकांश पालिकाले बजेटमा आन्तरिक स्रोत परिचालन, पारदर्शिता, जनसहभागिता, महिला र सीमान्तकृत समुदायको सशक्तीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन र डिजिटल सेवा विस्तारजस्ता विषय समेटेका छन्। साथै, अघिल्लो वर्ष कार्यान्वयनमा कमजोरी देखिएका योजनाहरू सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै, चालु योजनाहरू सम्पन्न गर्न विशेष प्राथमिकता दिइएको छ।

