दाङ, असार १३ । लमही नगरपालिका–१ स्थित सुनडबरीमा सञ्चालित कटाई–सिलाई तथा गुडिया बनाउने सीपमूलक तालिमको समापन समारोह भव्य रूपमा सम्पन्न भएको छ। समापन कार्यक्रममा नगरप्रमुख जोगराज चौधरीले सीपलाई आत्मनिर्भरताको आधार भन्दै मानिसको जीविकोपार्जनमा सहयोग पुर्‍याउने प्रमुख साधनको रूपमा व्याख्या गर्नु भएकाे थियाे ।

“सीप भनेको केवल काम गर्न सक्ने क्षमता मात्र होइन, यो आत्मनिर्भर जीवनको जग पनि हो,” उनले भने, “नगरपालिकाले यस्ता कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ र आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता लिएको छ।”

बिहिबार भएकाे उक्त कार्यक्रम वडा अध्यक्ष दामोदर पौडेलको अध्यक्षता र नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे ।   वडा नम्बर १ का अध्यक्ष दामोदर पौडेलले तालिमले स्थानीय महिलाहरूमा आत्मविश्वास बढाएको भन्दै, घरमै बसेर आम्दानी गर्न सक्ने खालका थप तालिमहरू सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नु भयाे।

त्यस्तै, लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश थापाले यस्ता तालिमहरू महिलाको आर्थिक सशक्तीकरणतर्फको सकारात्मक पहल भएको बताउनु भयाे । उहाँले सहभागिहरूलाई प्राप्त सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न आग्रह समेत गर्नु भायाे।

करीब डेढ महिनासम्म सञ्चालन भएको तालिममा ६८ जना महिलाहरूले सहभागिता जनाएका थिए। तालिमको प्रशिक्षकमा रुपा रोका, गंगा पुन थापा र बसन्ता थापा रहनु भएकाे थियाे । तालिम अवधिभर सहभागीहरूलाई कटाई–सिलाई र गुडिया बनाउने सीप प्रदान गरिएको थियो।

समापन अवसरमा सहभागी महिलाहरूले तयार पारेका सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो, जसले तालिमको प्रभावकारिता झल्काएको थियो।

कार्यपालिका सदस्य किरण चौधरीले स्वागत मन्तव्य बाट सुरू भएकाे उक्त कार्यक्रमकाे सञ्चालन वडा सचिव बिन्तिराम चौधरीले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस