घोराही, असार १९ । प्रेस सेन्टर नेपाल, घोराही शाखाले आयोजना गरेको “निःशुल्क समाचार लेखन तथा डिजिटल पत्रकारिता तालिम” बिहिबार देखि घोराहीमा सुरु भएको छ। पत्रकारिता क्षेत्रमा नयाँ पुस्ताको सशक्तिकरण गर्ने उद्देश्यले सुरु गरिएको तीन दिने तालिमको उद्घाटन कार्यक्रम शाखा अध्यक्ष हेमराज परिवर्तनको अध्यक्षता र प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।
प्रमुख अतिथि आचार्यले डिजिटल प्रविधिमा दखल र नयाँ सिप सिक्न यस्ता तालिमहरू उपयोगी हुने बताउँदै, जिल्लामा सक्रिय र नवप्रवेशी पत्रकारहरूलाई सशक्त बनाउन कार्यक्रमले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पत्रकारिता लोकतन्त्रको मेरुदण्ड भएकाले त्यसमा संलग्न हुने नयाँ अनुहारलाई सही मार्गदर्शन अत्यावश्यक रहेको धारणा राख्नुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले डिजिटल युगमा पत्रकारितासम्बन्धी चुनौती थप जटिल बन्दै गएकाले खोजमूलक र तथ्यमा आधारित पत्रकारिताको खाँचो झन् बढेको उल्लेख गर्नुभयो। उहाँले तालिमले पत्रकारहरूलाई प्रविधिसँग अनुकूल हुन सहयोग पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो।
महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले तालिमले पत्रकारहरूको क्षमता अभिवृद्धिमा योगदान पुग्ने बताउनुभयो। उहाँका अनुसार यस्ता तालिमहरू पत्रकारिताको व्यावसायिकता, जिम्मेवारी र नैतिक मूल्यहरूमा आधारित अभ्यास विकास गर्न सहयोगी हुन्छन्।
नेकपा (माओवादी केन्द्र) प्रचार विभाग सदस्य तथा महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष उदय जिएमले तालिमलाई केवल सीप विकासको माध्यम मात्र नभई सोच, दृष्टिकोण र मूल्यको विस्तार गर्ने प्लेटफर्मका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रेस सेन्टर नेपाल अनुशासन आयोगका सदस्य प्रकाश चौधरी, प्रेस सेन्टर दाङका उपाध्यक्ष जीवन रोका, संस्थापक अध्यक्ष पूरण शर्मा, प्रेस चौतारी दाङका सचिव निमुसंगम घर्ती र दाङ महिला जेसिजकी उपाध्यक्ष लक्ष्मी घमालगायतले पत्रकारितामा आचारसंहिता र नैतिकताको पालना अनिवार्य रहेको र यस्ता तालिमहरूले अनुशासित पत्रकार उत्पादनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे।
उद्घाटन कार्यक्रम शाखाका उपाध्यक्ष विष्णु गोराथोकीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सचिव सुविनराज सेर्पालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।











