असार २० । आगामी चार महिना डेङ्गु संक्रमणको सबैभन्दा संवेदनशील समय भएकाले उच्च सतर्कता अपनाउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ। महाशाखाले यस वर्ष देशभर करिब ६० हजार मानिसमा डेङ्गु संक्रमण हुने जोखिम रहेको अनुमान गरेको छ।

महाशाखाले बिहीबार आयोजना गरेको अन्तर्क्रियात्मक कार्यक्रममा स्वास्थ्य विज्ञहरूले लामखुट्टेको प्रजनन चक्र नष्ट गर्नु नै संक्रमण नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताए। कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले डेङ्गु फैलाउने एडिस जातका लामखुट्टेको लार्भा र फुल नष्ट गर्न चार महिनासम्म व्यापक अभियान आवश्यक हुने बताए।

“झुल, धूप वा लामखुट्टे भगाउने औषधिले घरभित्र काम गरे पनि बाहिर निस्कँदा संक्रमित लामखुट्टेको टोकाइबाट रोग सर्न सक्छ,” डा. दाहालले भने, “त्यसैले स्थानीय तहको समन्वयमा फुल नष्ट गर्ने अभियान प्रभावकारी ढंगले सञ्चालन हुनुपर्छ।”

तर, नगरपालिका तथा पालिकाहरूका स्वास्थ्यकर्मीहरू अन्य धेरै जिम्मेवारीमा व्यस्त हुने भएकाले लामो समयसम्म यस्ता अभियानमा निरन्तर खटिन कठिनाइ हुने उनले बताए। हाल महाशाखाले १७ जिल्लाका १४७ पालिकासँग डेङ्गु नियन्त्रणका लागि सहकार्य गरिरहेको जानकारी पनि दिइयो।

महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य क्षेत्र मात्र होइन, सबै निकायको समन्वय अपरिहार्य रहेको बताए। “कतिपय देशहरूमा वातावरण मन्त्रालयले लामखुट्टे नियन्त्रणको नेतृत्व लिएको पाइन्छ,” उनले भने।

उनका अनुसार, शहरहरूमा वर्षातको समयमा खुला खाडल, टायर, खाली भाँडाहरूमा पानी जम्दा र घर–घरको फ्रिज तथा एसीको पानीमा लामखुट्टेले सहजै अण्डा पार्न सक्ने भएकाले संक्रमणको जोखिम अझ बढेको छ।

सरकारले आगामी आर्थिक वर्षका लागि लामखुट्टे खोजी र नष्ट गर्ने अभियानमा १० करोड रुपैयाँ बजेट छुट्याएको जानकारी पनि कार्यक्रममा दिइयो।

डेङ्गु रोग एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रमण हो। सामान्यतः शितोष्ण जलवायुमा सीमित रहने यो रोग जलवायु परिवर्तनका कारण हाल पहाडी क्षेत्रमा समेत फैलिएको देखिएको छ।

डेङ्गुका लक्षणहरूमा उच्च ज्वरो, टाउको र आँखाको गेडी पछाडि दुख्ने, मांशपेशी दुख्ने, वाकवाकी लाग्ने तथा वान्ता हुने जस्ता समस्या देखिन्छन्। डेङ्गु संक्रमित बिरामीलाई पुनः सोही लामखुट्टेले टोकेमा संक्रमण अरू व्यक्तिमा पनि सर्न सक्ने हुँदा थप सतर्कता आवश्यक हुने विज्ञहरूले बताएका छन्।

सरकारले डेङ्गुसँगै कोभिड र हैजाको जोखिमलाई समेत नियन्त्रणमा राख्न विशेष तयारी थालिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस