दाङ, असार २१ । घोराही उपमहानगरपालिका–१४ सरस्वती टोलकी ६६ वर्षीया मुलजिता रोकाको नाममा रहेको जग्गा जालसाजीमार्फत बिक्री गरिएको रहस्य खुलेको छ। आफ्नै नामको जग्गा आफैँलाई नबताई बेचेको थाहा पाएपछि उहाँ न्यायका लागि अड्डा–अदालत धाउँदै धाइराख्नु भएकाे छ ।

मुलजिताका अनुसार उहाँले कृषि फर्म सञ्चालन गर्न २०७८ असार १६ गते घोराही–७ सौँडियारस्थित कित्ता नं. ३ क ९२६ को १० कट्ठा ८ धुर जग्गा जनज्योति पशुपक्षीपालक कृषक सहकारी संस्थालाई वार्षिक २४ हजार रुपैयाँमा १० वर्षका लागि भाडामा दिनुभएकाे थियाे। तर, सोही सम्झौतामा साक्षी रहेका घोराही–१५ का टीका बुढाले १२ दिनमै उक्त जग्गा जालसाजी गरेर बिक्री गरेका थिए।

रोकाले भन्नुभयाे, “म एकल वृद्ध महिला हुँ। छोरी काठमाडौंमा पढिरहेकी थिइन्, खर्चको जोहो गर्न सकिरहेकी थिइनँ। जग्गा भाडामा दिएर केही आम्दानी हुने आशामा थिएँ। तर, बन्धु नाताका टीकाले विश्वासघात गरे।”

उहाँका अनुसार २०७८ असार २७ गते टीकाले घोराहीका लक्ष्मण शर्मासँग २० लाख मूल्याङ्कन गरेर लिखत तयार पारी २८ गते मालपोत कार्यालयमा पास गराए। सो जग्गा २०७८ पुस २० गते पुनः लक्ष्मण शर्माबाट परश्नारायण श्रेष्ठलाई बिक्री गरिएको देखिन्छ। दुबै पटक पनि जग्गा मालिकलाई जानकारी नदिइएको रोकाको भनाइ छ।

रोकाले पत्रकार सम्मेलनमार्फत भाडाबापत तीन पटक गरेर जम्मा १ लाख २० हजार रुपैयाँ मात्र बुझाइएको जानकारी दिइन्। पाँच–पाँच वर्षमा भाडा तिर्ने भनिएको सम्झौतासमेत उल्लङ्घन गरिएको बताउनु भायाे।

उहाँको भनाइमा, टीकाले सहकारी सम्झौताको प्रक्रिया भनेर मालपोत कार्यालयमा लगेर हस्ताक्षर गराएका थिए। “त्यसपछि मलाई थाहा भयो, मैले दस्तखत र ल्याप्चे गरेको कागजलाई उनले जग्गा बिक्रीमा प्रयोग गरेछन्,” उहाँले भन्नुभयाे , “म पढेलेखेकी छैन, बुझ्ने कोही नहुँदा मलाई ठगी गरियो।”

घटनाबारे पटक–पटक सम्बद्ध निकायहरू र व्यक्तिहरूसँग न्यायको माग गरे पनि सुनुवाइ नभएको रोका बताउँनु हुन्छ। उहाँले टीकाका ससुरा, छोरा र कानुन व्यवसायीसहित स्थानीय पार्टी कार्यालयहरूमा पनि धाएर न्याय खोज्नु भयाे ।

यस विषयमा जानकारी लिन जाँदा भूमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुख कमलप्रसाद पौडेलले भने, “कानुनी प्रक्रिया पूरा गरेर जग्गा किनबेच भएको कागजात देखिन्छ। कागजपत्रका आधारमा मालपोत पास गरिएको हो।” उहाँले पीडितलाई कानुनी प्रक्रिया अपनाउन सुझाव दिनुभएकाे छ।

जग्गा बिक्रीको आरोप लागेका टीका बुढा भने पत्रकार सम्मेलनपछि समेत सार्वजनिक रूपमा सम्पर्कमा आएका छैनन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस