काठमाडौं, असार २२ । सनातन वैदिक परम्पराअनुसार आज आषाढ शुक्ल एकादशीका दिन ‘हरिशयनी एकादशी’ मनाउँदै देशभरका घरघरमा तुलसीको बिरुवा मोठमा सार्ने परम्परा सुरु भएको छ।

ज्येष्ठ शुक्ल एकादशीका दिन दलमा रोपिएको तुलसी आजदेखि ठूलो गमला (मोठ) मा सारेर पूजाआराधना गर्ने प्रचलन छ। आजदेखि सुरु हुने यो पूजा विधि कार्तिक शुक्ल एकादशीसम्म अर्थात् चार महिनासम्म जारी रहनेछ।

धार्मिक मान्यताअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा शयनमा जाने भएकाले यो दिनलाई ‘हरिशयनी एकादशी’ भनिन्छ। भगवान् विष्णुको शयनकाललाई चतुर्मास भनिन्छ, जसमा पूजा, व्रत र संयमको विशेष महत्व रहने गर्दछ।

एक वर्षमा २४ वटा एकादशी पर्छन्। सबै एकादशीमा व्रत गर्न नसक्नेहरूले चतुर्मासमा पर्ने आठ एकादशी तथा मुख्य दुई — हरिशयनी र हरिबोधिनी एकादशीमा फलाहार गरी व्रत बस्ने परम्परा रहेको छ।

आजको दिन राजधानी काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण मन्दिर तथा देशभरका विष्णु र नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। भक्तहरूले तुलसीको पूजासँगै चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडो तथा फलफूल जस्ता हल्का खाद्यवस्तु ग्रहण गरी व्रत बस्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस