काठमाण्डाै, असार २२ । नेपाल ह्याचरी उद्योग सङ्घले भोलिदेखि एक हप्ताका लागि कुखुराको चल्ला उत्पादन र बिक्रीमा रोक लगाएको छ ।
नेपाल ह्याचरी उद्योग सङ्घले सदस्य उद्योगहरूलाई पत्र पठाएर असार २३ गते सोमवारदेखि २९ गते आइतवारसम्म बोइलर र कलर बोइलर अर्थात् कोइलर कुखुराको चल्ला उत्पादन तथा बिक्री गर्न पूर्णरूपमा रोक लगाउने निर्णयबारेमा जानकारी गराएको हो । पत्रमा २० गते शुक्रवारको बैठक अनुसार चल्ला उत्पादन नगर्ने जानकारी गराइएको छ ।
लागत मूल्य नपाउँदा चल्ला उत्पादक किसानलाई समस्या परेकोले यस्तो निर्णय गरेको सङ्घले जनाएको छ । ह्याचरी सङ्घका अनुसार दुई वर्ष अगाडिसम्म ह्याचरी उद्योगमा तीन सय ५० बढी फर्म आबद्ध रहेकामा अहिले एक सयभन्दा पनि कममात्रै आबद्ध रहेका छन् ।
दुई महिना अघिसम्म चल्लाको मूल्य एउटाको ५५ देखि ६० रुपैयाँ थियो । तर अहिले चल्ला २० देखि २५ रुपैयाँमा पनि नबिकेपछि उत्पादन र बिक्री बन्द गर्नुपरेको सङ्घले जनाएको छ ।

