दाङ, असार २९ दाङको तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुरमा सर्पको टोकाइबाट २२ महिनाका बालकको ज्यान गएको छ। मृत्यु हुनेमा नुरज परियारका छोरा एनिस परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए।
बालक दिउँसो करिब सवा ४ बजे घरमै खेलिरहेका बेला सर्पले बायाँ हातको हत्केलामा टोकेको थियो। घटनापछि तत्कालै परिवारले बालकलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल लगेका थिए। तर उपचारका क्रममा साँझ साढे ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
सर्पदंशको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय फुलवारीबाट प्रहरी नायब निरीक्षक रामसिंह धामीको नेतृत्वमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाको समयमा बालककी आमा अनिता परियार स्थानीय जंगलमा च्याउ संकलन गर्न गएकी थिइन्। बालकको हेरचाहमा हजुरबुबा श्याम नेपाली रहेका थिए।
हाल सर्पदंशका घटना बढ्दो क्रममा रहेको भन्दै विशेषज्ञहरूले बालबालिकालाई विशेष निगरानीमा राख्न र घर वरपरको सरसफाइमा ध्यान दिन अभिभावकलाई सुझाव दिएका छन्।












