दाङ, असार ३२। श्रावण १ गतेदेखि घोराही उपमहानगरपालिका–१७ स्थित गुलरियामा सुरु हुने शिवपुराण तथा श्रृंगारिक महाआरति कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएकाे छ। कार्यक्रम एक महिनासम्म निरन्तर सञ्चालन हुने बताइएकाे छ। शिवपार्वती तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा हुने धार्मिक अनुष्ठानको तयारीबारे आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरी आयाेजक समितीले जानकारी दिएकाे हाे। आयोजक समिति संयोजक गोविन्द गोराथोकीका अनुसार, कार्यक्रम सञ्चालनका लागि मञ्च, प्रचारप्रसार, सुरक्षा, सरसफाइ र आवागमन व्यवस्था अन्तिम चरणमा पुगेको छ।

समितिका अध्यक्ष गोराथोकीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघमा केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यमा उक्त सम्मेलन सम्पन्न भएको हाे । शिवमहापुराण तथा श्रृंगारिक महाआरति कार्यक्रमको औपचारिक उद्घाटन घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीले गर्नु हुने छ। यसअघि बिहान १० बजे कलश यात्रा निकालिनेछ, जसले गुलरिया पार्कबाट सुरु भई तुलसीपुर चोक, दामोदर चोक, शहीद गेट हुँदै कार्यक्रम स्थलमा पुग्नेछ।

समितिका अनुसार, शहीद स्मारक पार्क, सांस्कृतिक संग्रहालय र शिवपार्वती–राधाकृष्ण मन्दिर परिसरलाई धार्मिक तथा पर्यटकीय केन्द्रको रूपमा विकास गर्न यो विशेष कार्यक्रम आयोजना गरिएको हो। श्रावण १ देखि ३१ गतेसम्म, सुप्रसिद्ध पण्डित आचार्य श्यामशरणको मुखारविन्दबाट शिवपुराण पाठ हुनेछ भने, बिहान ४:३० बजे योग अभ्यास र साँझ श्रृंगारिक महाआरति विशेष आकर्षणको रूपमा समावेश गरिएको छ।

धार्मिक कार्यक्रम अन्तर्गत रूद्राभिषेक, लघु रूद्र, चौरासी पूजा, जन्मदिन तथा चूडाकर्म जस्ता विविध अनुष्ठान, भजन–कीर्तन, धार्मिक प्रवचन र सांस्कृतिक प्रस्तुति समेत गरिनेछ।

आयोजकका अनुसार, कार्यक्रमबाट उठेको बचत रकम भौतिक पूर्वाधार सुधार जस्तै मन्दिरको सौन्दर्यकरण, पदमार्ग निर्माण, विश्राम गृह, बत्ती तथा खानेपानी सुविधा विस्तारमा खर्च गरिनेछ।

कार्यक्रमको सहजीकरण समितिका सचिव दीपक वलीले गर्नुभएको थियो भने प्रचारप्रसार उपसमिति संयोजक कमल वलीले श्रद्धालु भक्तजन, शुभेच्छुक, युवा तथा संघसंस्थाहरुलाई सक्रिय सहभागिता र सहयोग गर्न आह्वान गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस