दाङ, साउन १० । लेखक शोभाराम ओलीको नयाँ उपन्यास अटेलिस जोइ शनिबार घोराहीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ। बिएन पुस्तक संसार प्रालिको प्रकाशनमा आएको यो कृति यसअघि श्नावन २ गते कतारमा विमोचन भइसकेको थियो। घोराहीमा भएको यो विमोचनलाई प्रकाशकले ‘नेपाल विमोचन’को रूपमा उल्लेख गरेको छ।
राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटाको प्रमुख आतिथ्य र सूर्य बिसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै देवकोटाले लेखकको मेहनतको प्रशंसा गर्दै भने, “परदेशमा रहेर नेपाली साहित्यप्रति चिन्ता गर्नु स्वयंमा असाधारण कर्म हो। अटेलिस जोइ साँच्चिकै उत्कृष्ट उपन्यास बनेको छ।”
त्यस अवसरमा समीक्षक सुनिल पोखरेलले पुस्तकको समग्र पक्षबारे चर्चा गर्दै भने, “उपन्यासमा रोल्पाका गाउँबेसी, पाखा–पखेरुका कथा, अन्तरजातीय प्रेमकथा, द्वन्द्वका चित्रणदेखि मरुभूमिको पीडा समेत समेटिएको छ।”
साहित्य र समाजसेवामा समान रूपमा सक्रिय लेखक शोभाराम ओलीको अटेलिस जोइ उनको छैठौँ पुस्तक भएको प्रकाशक सूर्य बिसीले जानकारी दिनुभयाे। कार्यक्रममा मनिषा गिरीले सहजीकरण गर्नु भएकाे थियाे।












