दाङ, साउन १२। दाङ जिल्लामा हालसम्म करिब ९० प्रतिशत धान रोपाइ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ। सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा रोपाइ सकिएको भए पनि सिँचाइ नपुगेका केही क्षेत्रमा अझै रोपाइ हुन बाँकी रहेको छ।
कृषि अर्थविज्ञ तथा सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार देउखुरी क्षेत्रका अधिकांश भू–भागमा रोपाइ सम्पन्न भइसकेको छ भने घोराही र पश्चिम दाङका केही स्थानमा रोपाइ जारी छ। बाँकी रहेका क्षेत्रहरूमा पानीको आपूर्ति भएमा केही दिनमै रोपाइ सकिने उनले बताए।
लामिछानेका अनुसार हालसम्मको अवस्था हेर्दा धान उत्पादनमा ठूलो असर नपर्ने देखिएको छ। “साउन महिनाको समय अझै बाँकी छ, साउन र भदौमा पर्याप्त पानी परेमा उत्पादन घट्ने छैन,” उनले बताए। हाल रोपिएको धान पनि राम्रो अवस्थामा रहेको जानकारी उनले दिए।
जिल्लाको कुल ७४ हजार ३३६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३७ हजार २२५ हेक्टरमा धानखेती हुने गरेको छ। तीमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ८ हजार ९७ हेक्टरमा धान रोपाइ हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
अन्य पालिकाहरूमा धानखेती हुने क्षेत्रफल यस प्रकार छ:
-
तुलसीपुर उपमहानगरपालिका : ६,७९५ हेक्टर
-
बबई गाउँपालिका : २,१५० हेक्टर
-
बंगलाचुली गाउँपालिका : १,१४३ हेक्टर
-
दंगीशरण गाउँपालिका : ३,४१२ हेक्टर
-
गढवा गाउँपालिका : ३,२८० हेक्टर
-
लमही नगरपालिका : ३,२५० हेक्टर
-
राजपुर गाउँपालिका : ३,१०३ हेक्टर
-
राप्ती गाउँपालिका : ३,२४५ हेक्टर
-
शान्तिनगर गाउँपालिका : २,७५० हेक्टर
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष पनि भारत र चीनबाट आयातित हाइब्रिड धानको बिउको प्रयोग बढी भएको छ। तथापि, गत वर्षको तुलनामा हाइब्रिड बिउको प्रयोगमा केही कमी आएको छ भने उन्नत र स्थानीय जाततर्फ किसानको आकर्षण बढेको छ।
यस वर्ष ७० प्रतिशत हाइब्रिड, २० प्रतिशत उन्नत र १० प्रतिशत स्थानीय जातको धानको बिउ प्रयोग भएको छ। गत वर्ष हाइब्रिडको प्रयोग ८० प्रतिशत थियो।
सबैभन्दा धेरै युएस ३१२, एमपी ३०३०, एचजेजी १०, जेके ५०१७, एआरआई ६४४४, उपज, राजा, क्याम्पियनजस्ता हाइब्रिड जात रोपिएको छ। उन्नत जातमा हर्दिनाथ ६, सावाँ मन्सुली, रामधान, राधा–४, सुख्खा–१, २, ३, ४, गंगोत्री, सावित्री आदि प्रयोग भएका छन्।
स्थानीय रैथाने जातका रूपमा तिल्की र सिम्ठारोको पनि प्रयोग गरिएको छ। गत वर्ष जिल्लामा करिब ५०० मेट्रिक टन हाइब्रिड र ८०० मेट्रिक टन उन्नत तथा स्थानीय बिउ खपत भएको थियो।
धान उत्पादनमा वृद्धि गर्न किसानले हाइब्रिड बिउको प्रयोग गर्ने गरे पनि उन्नत तथा स्थानीय बिउप्रति खासै आकर्षण देखिएको छैन।
यद्यपि, कृषकहरूले अनुदानको मल पाउन नसकेको गुनासो गरेका छन्। एक कृषकका अनुसार खेत तयार पार्ने बेला पटक–पटक धाउनुपरे पनि मल नपाएको र अन्ततः व्यापारीबाट मल खरिद गरी रोपाइ गर्नुपरेको अवस्था रहेको छ।
सरकारी अनुदानमा उपलब्ध मल वितरणमा सहजता नभएको गुनासो किसानको साझा समस्या बनेको छ।

