घोराही, साउन १२ । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नगरस्तरीय वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, महाशाखा तथा शाखा प्रमुखहरू, वडा सचिवहरूको उपस्थिति रहेको थियो।
समीक्षा कार्यक्रममा महाशाखा, शाखा र वडाहरूले आर्थिक वर्षभरिमा गरेका गतिविधिहरूको प्रगति विवरण प्रस्तुत गरेका थिए। दुई दिनसम्म चलेको समिक्षामा नगरको कुल बजेटमध्ये ७७ दशमलव ६७ प्रतिशत खर्च भएको जानकारी दिइएको छ।
गत आर्थिक वर्षमा उपमहानगरपालिकाले २ अर्ब ३३ करोड ८२ लाख ३२ हजार २५० रुपैयाँको बजेट प्रस्ताव गरेको थियो। सोमध्ये १ अर्ब ८६ करोड २६ लाख २५ हजार ९७ रुपैयाँ वास्तविक बजेटमा कायम भई, १ अर्ब ८१ करोड ६२ लाख ३५ हजार ९२२ रुपैयाँ खर्च भएको थियो।
लुम्बिनी प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त ३ करोड ६४ लाख ६२ हजार रुपैयाँमध्ये २ करोड ८९ लाख ९ सय ६७ रुपैयाँ (७९.२६%) खर्च गरिएको थियो।
संघीय सशर्त अनुदानअन्तर्गत प्राप्त ८७ करोड ३९ लाख ४९ हजार रुपैयाँमध्ये ७३ करोड ९७ लाख ९६ हजार ३९४ रुपैयाँ (८५.६२%) खर्च भएको विवरण छ।
नगरस्तरीय राजस्व स्रोतबाट संकलित ३८ करोड ८६ लाख ३१ हजार ७५० रुपैयाँमध्ये ३० करोड ८७ लाख ७५ हजार ७२१ रुपैयाँ (७९.४५%) खर्च भएको उल्लेख गरिएको छ।
कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले नगरवासी, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको सहयोगका कारण योजना कार्यान्वयन सम्भव भएको भन्दै सबैप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, खानेपानी तथा सरसफाइ, कृषि र युवा उद्यमशीलता जस्ता क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको जानकारी दिनुभयो।
“जनताको विश्वासलाई केन्द्रमा राखी हामीले हरेक योजनामा पारदर्शिता र सहभागिता सुनिश्चित गरेका छौँ,” नगर प्रमुख चौधरीले भन्नुभयो, “स्थानीय सरकारको मूल जिम्मेवारी जनताको सेवा हो। यसलाई हामी सबै मिलेर अझ प्रभावकारी बनाउँदै लैजानेछौँ।” उहाँले सेवा प्रवाहलाई उत्तरदायी, पारदर्शी र जनमुखी बनाउन गुणस्तरीयता र जवाफदेहितामा विशेष ध्यान दिन सुझाव दिनुभयो। साथै, कर्मचारीहरूलाई जिम्मेवार, इमान्दार र जनउत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो।
नगर उपप्रमुख हुमाकुमारी डिसीले प्रशासनिक संरचनाले जनताको हितमा काम गर्न नसके सरकारप्रति जनताको विश्वास गुम्ने चेतावनी दिँदै, जनताले अनुभूति गर्न सक्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले योजना, कार्यक्रम तथा सेवा वितरणका सबै पक्षमा पारदर्शिता कायम गर्दै अनियमितता र ढिलासुस्ती अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले नगरवासीलाई परिणाममुखी सेवा दिनु जरुरी रहेको भन्दै विकासमा योजनाको प्रभावकारिता, स्रोतको सही उपयोग र जनसहभागिताको सन्तुलन अत्यन्त महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
उहाँले कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्य, समन्वय र आपसी विश्वासका माध्यमबाट मात्र समृद्ध उपमहानगरको लक्ष्य पूरा हुने बताउँदै, सबै कर्मचारीलाई सकारात्मक सोच, लगनशीलता र उत्तरदायित्वका साथ कार्य सम्पादन गर्न आग्रह गर्नुभयो।
सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा सम्पन्न कार्यक्रमको सहजीकरण तथ्यांक अधिकृत भीमबहादुर चौधरी र सूचना प्रविधि अधिकृत विमल अग्रहरीले गर्नुभएको थियो।












