घोराही,साउन २३ । घोराही उपमहानगरपालिकाले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता व्यवस्थापन प्रणालीसम्बन्धी विषयमा वडा सचिव र कर्मचारीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजना र कर्मचारीको क्षमता विकास उद्देश्यसहित उक्त कार्यक्रम चार दिनसम्म सञ्चालन भएको हो।

समापन सत्रमा नगर प्रमुख नरुलाल चौधरीले नागरिक सेवा छिटोछरितो र चुस्त बनाउन सकेमा मात्र नागरिक सन्तुष्टि हासिल हुने बताए। उहाँले कर्मचारीको व्यवहार र सेवा प्रबाहमा उत्कृष्टता कायम गर्नु उपमहानगरपालिकाको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै, गुनासोमुक्त सेवा दिन सबै कर्मचारीहरू प्रतिबद्ध रहन आग्रह गर्नुभयाे । साथै, काममा चुस्तता, कानुनको अक्षरशः पालना र सजगता अपनाउन सुझाव पनि दिनुभएकाे छ ।

नगर प्रमुख चौधरीका अनुसार हालसम्म जनताबाट ठूला गुनासो आएका छैनन्, तर भविष्यमा त्यस्तो अवस्था कायम राख्न सतर्कता आवश्यक छ।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले सेवा प्रबाहमा एकरूपता र उत्कृष्टता कायम गर्न आग्रह गर्दै, कर्मचारीको व्यवहारमै नगरको समग्र सेवा गुणस्तर प्रतिबिम्बित हुने बताउनु भयाे।

वडा नं. १६ का सचिव तेजा गैरेले स्थानीय सरकारको आधार नै वडा कार्यालयबाट प्रदान हुने सेवा भएकाले यस्ता तालिम र क्षमता विकास कार्यक्रमहरूले कार्यक्षमता र चुस्तता बढाउने बताउनु भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस