काठमाडौं, साउन २५ । पशुपति आर्यघाटमा दाहसंस्कारका क्रममा मानव शवको हड्डी र मासु बिक्री गर्न खोजेको आरोपमा दुई जना पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त गौशालाले शव जलाउने काममा संलग्न गणेश ढकाल र उनका सहयोगीलाई नियन्त्रणमा लिएको हो। काभ्रे स्थायी घर भएका रामबहादुर शाहीको शव शुक्रबार आर्यघाटमा दाहसंस्कार भइरहेका बेला घटना भएको प्रहरीले जनाएको छ।

मृतकका आफन्तले नै आरोपीहरूलाई रंगेहात पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार, ढकालले आफ्ना सहयोगीलाई शाहीको जलिरहेको शवबाट मासु र हड्डी निकालेर प्याक गर्न लगाइरहेका बेला परिवारजनले देखेका थिए। यस क्रममा मृतकका आफन्त र आरोपीबीच भनाभन र विवाद समेत भएको थियो।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली आर्यघाट पुगेको थियो। त्यसपछि मृतकका परिवारजनले दुवै विरुद्ध औपचारिक जाहेरी दिएका थिए।

गौशाला प्रहरी वृत्तका सूचना अधिकारी प्रहरी नायब निरीक्षक सुकदेव खनालका अनुसार, यस प्रकृतिको घटना अत्यन्तै संवेदनशील र पहिलो पटक सुन्नमा आएको हो। उनका अनुसार, आरोपीहरूले मासु र हड्डी निकालेर ५०० रुपैयाँमा बेच्ने योजना बनाएका थिए, जसमा ४०० रुपैयाँ ढकालले र १०० रुपैयाँ सहयोगी मैनाली थरका व्यक्तिले लिने सहमति गरेका थिए।

मानव शवका अंग बिक्री वा चोरी गर्ने विषयमा नेपालको कानुनमा स्पष्ट प्रावधान नहुँदा कारबाही अघि बढाउन कानुनी चुनौती रहेको प्रहरीले जनाएको छ। यद्यपि, उनीहरूलाई ‘अभद्र व्यवहार’ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

प्रहरीका अनुसार, यो उनीहरूको पहिलो प्रयास हो वा यसअघि पनि यस्ता कार्यमा संलग्न थिए भन्नेबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस