दाङ, भदाै १३ । त्रिभुवननगर जेसीजले सातदिने ‘तालिम म्याराथन–२०२५’ आयोजना गर्ने भएको छ । युवामा नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व विकास र जेसीजको पहिचानलाई लक्ष्य गरी आगामी भदौ १६ गतेदेखि २३ गतेसम्म घोराहीस्थित विभिन्न शैक्षिक संस्थामा कार्यक्रम सञ्चालन हुने भएको हो ।
जेसीज अध्यक्ष टंकबहादुर रावत ‘अनन्त’ का अनुसार तालिम म्याराथनले युवाको नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि र सीप विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । अभियानलाई सफल पार्न विभिन्न संयोजकलाई जिम्मेवारी तोकिएको महासचिव कृष्णदेव थापाले जानकारी दिनुभयो ।
तालिम म्याराथनअन्तर्गत पहिलो दिन, भदौ १६ गते, मेचेकाली बोर्डिङ स्कुलमा बैठक सञ्चालन कार्यशाला विषयमा प्रशिक्षण हुनेछ, जसको सहजीकरण पूर्वअध्यक्ष माधवप्रसाद पौडेलले गर्नेछन् ।
भदौ १७ गते, मार्क इन्टरनेशनल कलेजमा वित्त क्षेत्रमा भावी नेतृत्व विषयमा प्रशिक्षण हुनेछ, प्रशिक्षक सिए कैलाश खत्री रहनेछन् ।
भदौ १८ गते, भिक्टोरिया इन्टरनेशनल कलेजमा सपनादेखि उद्यमसम्म विषयमा पूर्वअध्यक्ष ओविन्द्रबहादुर महराले सहजीकरण गर्नेछन् ।
भदौ १९ गते, राप्ती शिक्षा क्याम्पसमा क्लिकदेखि अदालतसम्म : साइबर अपराध र कानुनी पक्ष विषयमा जिल्ला अदालत दाङकी शाखा अधिकृत मञ्जु शर्माले प्रशिक्षण दिने कार्यक्रम छ ।
त्यस्तै, भदौ २० गते पद्मोदय क्याम्पसमा आध्यात्मिकता : सन्तुलित जीवनको विज्ञान विषयमा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक किशोरचन्द्र गौतमले प्रशिक्षण दिनेछन् ।
भदौ २२ गते, दिपशिखा कलेजमा प्रभावकारी सार्वजनिक भाषण कला विषयमा नेपाल जेसीजका पूर्वकार्यकारिणी उपाध्यक्ष निशान्त आचार्यले सहजीकरण गर्नेछन् ।
र अन्तिम दिन, भदौ २३ गते, महेन्द्र बहुमुखी क्याम्पसमा माइन्यूट तथा प्रतिवेदन लेखन विषयमा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक दुर्गालाल केसीले प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।
जेसीज अध्यक्ष रावतले विज्ञप्ति जारी गर्दै तयारी पूरा भएको र तालिम म्याराथनलाई सफल बनाउन सम्पूर्णको साथ–सहयोग आवश्यक रहेको अनुरोध गर्नुभएको छ ।












