भालुवाङ,भदौ १६ । दाङको देउखुरीमा आइतबार मध्याह्न १२:३० बजे घरमाथि काँचो सालको रूख ढल्दा दुई घर प्रभावित भएका छन्। राप्ती गाउँपालिका–३, मुक्त कमैया नयाँबस्तीस्थित लक्ष्मीप्रसाद चौधरीको घरमा पूर्ण क्षति पुगेको छ भने छेउमा रहेको हेलुराम चौधरीको घरमा आंशिक क्षति भएको छ।
इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार, चौधरीको टिन छाएको कच्ची घरमा रूख ढल्दा करिव १ लाख १५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, हेलुराम चौधरीको घरमा रूखको हाँगा लाग्दा करिव २५ हजार रुपैयाँ बराबरको आंशिक क्षति भएको प्रहरीले जनाएको छ।
घर पूर्ण रूपमा क्षतिग्रस्त भएका लक्ष्मीप्रसाद चौधरी अहिले सोही बस्तीमा रहेको मुक्त कमैयाको बैठक भवनमा बस्न बाध्य भएका छन्। हेलुराम चौधरी आफ्नो पक्की घरमा बसिरहनु भएको छ। प्रहरीका अनुसार, काँचो सालको रूखको जरा कमजोर भएको कारण यसरी ढल्न पुगेको हो।












