दाङ, भदौ २६ । दाङमा विरोध प्रदर्शनका क्रममा लुटिएका सामान फिर्ता गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेकाे छ । जिल्लामा हालै Gen Z समूहको विरोध प्रदर्शनका क्रममा सरकारी तथा स्थानीय तहका कार्यालय, संघ–संस्था र व्यक्तिगत घरहरूमा तोडफोड, आगजनी र लुटपाट भएका घटनाप्रति जिल्ला प्रशासन कार्यालयले ध्यानाकर्षण गरेको छ।

जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गर्दै यस्ता घटनामा संलग्न वा संयोगवश फेला परेका सरकारी/निजी सामान, प्रहरी इकाई तथा कर्मचारीका संचार उपकरण, युनिफर्म लगायतका सबै सामग्री तुरुन्त नजिकको प्रहरी इकाईमा बुझाइदिन अनुरोध गरेको छ।

प्रशासनले कुनै पनि व्यक्तिलाई त्यस्ता लुटिएका वा फेला परेका सामग्रीबारे जानकारी भएमा नजिकको प्रहरी इकाईमा वा टेलिफोन नम्बर १०० मा सम्पर्क गरी सहयोग गर्न समेत आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालद्वारा हस्ताक्षरित उक्त सूचनामा सबै पक्षको सहयोगबिनै सार्वजनिक सम्पत्तिको सुरक्षा र शान्ति सुव्यवस्था सम्भव नहुने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस