
घोराही, भदौ ३० । घोराही बजार क्षेत्रहरूमा चहलपहल बद्दै गएको छ । आइतबार साँझसम्म पनि घोराही बजारमा भीडभाड कायमै देखिएको थियो । पैदल यात्रुका कारण बैङ्क रोड, न्यूरोड र हस्पिटल रोडमा सवारी साधन धिमे गतिमा चलेका थिए। बिहान सरसफाइ गाडीका कारण जाम बढे पनि कार्यालय समयपछि बजार झन् चहलपहलपूर्ण बनेको थियो।
दाङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीका अनुसार चाडपर्व नजिकिँदा बजारमा सामान्यभन्दा बढी कारोबार भएको छ। यद्यपि, जेनजी आन्दोलनका क्रममा कानुनी व्यवसायीका कार्यालय, जेसीज भवनभित्रका चेम्बर तथा फोटो स्टुडियो जलेर नष्ट भएका थिए। होटल व्यवसायमा पनि आगजनी, तोडफोड र लुटपाट भएको समितिले जनाएको छ।
त्यसैबीच आइतबार मोबाइल, फेन्सी र किराना पसलदेखि बैंक तथा वित्तीय संस्थासम्ममा बाक्लो भीड देखियो। चियापसलहरूमा आन्दोलनको क्षति र आगामी राजनीतिक समीकरणबारे छलफल भइरहेका थिए।
दाङ चेम्बर अफ कमर्सका अध्यक्ष विकास अग्रवालका अनुसार शनिवारसम्म निषेधाज्ञा रहे पनि आइतबारदेखि बजार सामान्य लयमा फर्किएको हो। आन्दोलनले ध्वस्त बनाएका क्षेत्रबाहेक अन्य व्यवसाय सञ्चालनमा आएसँगै उपभोक्ता निःशङ्क भएर कारोबारमा संलग्न हुन थालेका छन्।











